भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

 जेठ २१, २०८० आइतबार ११:५५:१४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ ।

आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ ।

दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ । सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी पनि गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्रयाकबाट नदीमा खस्दा कम्तीमा ८ सय  जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया