उपभोक्तालाई पाइलैपिच्छे ठगी, जिम्मेवार निकाय मौन

 जेठ २२, २०८० सोमबार १२:१९:४९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

कैलाली घोडाघोडी नगरपालिकाका गणेश बडुवाल काठमाण्डौ बस्न थालेको ८ वर्ष भयो । कीर्तिपुरमा बस्ने बडुवाल दशैँ, तिहार तथा त्यस्तै नगइ नहुने अवस्था पर्दा घर जानुहुन्छ । घर जान जाम परेन भने सामान्यतया १२/१४ घण्टा लाग्छ । तर, जाम पर्यो र अन्य कारणले बाटो अवरोध भयो भने २४/२५ घण्टा पनि लाग्छ । भाडा झण्डै २४/२५ सय रुपैयाँ लाग्छ ।

दशैँ, तिहारमा घर जान गाडीको सिट पाउन गाह्रो छ । मुढामा बसेर पनि जानुपर्ने हुनसक्छ । अनि त्यो बेला सिट नै पाउन चाहिँ महँगो तिर्नुपर्ने हुन्छ । तर, सामान्य समयमा भने अनौठो किसिमको हुन्छ भाडा । जो मान्छे सोझो छ र बसपार्क गएर टिकट काट्छ उसले पूरा पैसा तिरेर टिकट अनुसारको भाडा तिर्छ । तर, जो कलंकी वा अन्य ठाउँबाट चढ्छ उसले भने बार्गेनिङ गरेर घटीमा टिकट काट्छ । यसमा पनि सोझो मान्छे ठगिन्छ ।

बडुवाल भन्नुहुन्छ, ‘ब्याग भएको बेलामा त बसपार्क जानै पर्यो अरु बेलामा त कलंकी गएर बार्गेनिङ गरेर यतिमा लग्ने भए जान्छु भनेर चढ्ने गरेको छु । खाली जानुभन्दा भनेर उनीहरुले पनि लैजान्छन् ।’

भाडाका कारणभन्दा पनि उहाँलाई घर जान सबैभन्दा दिक्क लाग्ने कुरा भनेको बाटोमा खानुपर्छ भनेर हो । कारण खाना, खाजाका लागि गाडीवालाहरुले बाध्य पारेर एउटै होटल भएको ठाउँमा रोक्छन् । अनि त्यो होटलमा गएर खाना, खाजा खाँदा पहिलो कुरा त महँगो हुन्छ । अर्को भनेको गुणस्तरीय खान पाइँदैन ।

त्यस्ता ठाउँमा पहिलो कुरा त खाना खाने तथा किराना पसल पनि एउटै मात्र हुन्छ । यसो गरेबापत होटलवालाले गाडीवालालाई मिठो, मसिनो सित्तैमा ख्वाउने त छँदैछ उल्टो पैसा पनि दिन्छन् । उहाँ भन्नुहुन्छ, ‘अहिले त्यस्ता पसलमा सादा खाना खाँदा पनि साढे दुई सय पर्छ जबकि बाहिर त्यही खाना एक सय २० रुपैयाँमा पाइन्छ । गुणस्तरको कुरै नगरौँ । अन्त जाने भन्ने विकल्प नै हुँदैन । कि भोकै बस्नुपर्यो, कि महँगो तिरेर नराम्रै भए पनि खानुपर्यो ।’

यो त एउटा उदाहरण हो । बजारमा सामान किन्दा र सेवा लिँदा उपभोक्ताले पाइलैपिच्छे ठगिनु परेको छ । तरकारीमा डाँठ र पात मिसाउने, चामल तथा गेडागुडीमा ढुंगा मिसाउने त सामान्य भइसक्यो हाकाहाकी मूल्यमै तथा चानचुन पैसा नभएका नाममा उपभोक्ता सहजै ठगिने गरेका छन् ।

भक्तपुरकी गंगा पोखरेललाई काठमाण्डौको सार्वजनिक गाडीको भाडा घटेको थाहा छ । तर, व्यवहारमा भने उहाँले यस्तो भोग्न पाउनु भएको छैन । भाडा घटेको भने पनि तिर्दा पुरानै भाडादरअनुसार पैसा तिर्नु परेको छ ।

काठमाण्डौमा न्यूनतम भाडा २० रुपैयाँ रहेकोमा घटेर १९ रुपैयाँ भएको छ । तर, यात्रुहरुले भने अहिले पनि २० रुपैयाँ नै तिर्नुपरेको छ । उहाँ भन्नुहुन्छ, ‘भाडा घटेको भने पनि त्यसलाई व्यवहारमा लागू गर्न सकिएन । यातायात व्यवसायीले पनि लागू गर्ने सोच बनाएनन् ।’

उहाँ कलेज जानका लागि बिहान भक्तपुरबाट बागबजार आउनुहुन्छ । विद्यार्थी भएका कारण छुट हुँदा उहाँले २५ रुपैयाँको भाडा २० रुपैयाँ तिरिरहनु भएको थियो । तर, अब भाडा घट्दा उहाँले १८ रुपैयाँ तिर्नुपर्ने हो । तर, पनि २० रुपैयाँ नै तिरिररहनु भएको छ घट्दा पनि ।

उहाँ भन्नुहुन्छ, ‘पैसा तिरेर बसेर यात्रा गर्न पाउनु त कता हो कता हो । झन भाडा पनि बढी तिर्नुपरिरहेको छ भने बसमा महिलाहरुलाई हुने दुर्व्यवहार पनि सहनु परेको छ ।’

भाडा मिलाएर दिँदा पनि भाडा यति हैन भन्ने अनि हाम्रो व्यवसायी संघले मानेको छैन भनेर सहचालकले भन्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, ‘घटाउनुपर्ने भाडा चाहिँ नघटाइदिने अनि बढाउनुपर्ने भाडा भने अघिल्लो दिनमात्र भने पनि भोलिदेखि नै बढाइदिने । पाँच रुपैयाँ बढ्दा उनीहरुले दश रुपैयाँ बढाएर लिने गर्छन् ।’

भाडामा हेरफेर हुँदा व्यवसायीले गाडीमा भाडाको सूची राख्नुपर्ने हुन्छ । तर, भाडा बढ्दा भोलिपल्टै मूल्य सूची टाँस्ने व्यवसायी घट्दा भने टाँस्दै टाँस्दैनन् । ढिलो गरी कसैले टाँसे पनि यो पुरानो हो भनेर यात्रुहरुलाई झुक्याउने गरेको पाइन्छ ।

उहाँ भन्नुहुन्छ, ‘भाडाको सूची टाँसे पनि कहिलेदेखि लागू हुने भन्ने मिति नै हुँदैन । यातायात व्यवसायी संघले निकालेकै छैन अनि यो पहिलेको हो भन्ने गर्छन । हामीले भने पनि टार्ने गर्छन् ।’

अरु धेरै यात्रुजस्तै भक्तपुरकी गंगा पोखरेल बस भाडामा ठगिनु भएको छ । यस्तै रामेछापको लिखु गाउँपालिकाका युवराज राई भने पेट्रोल भर्दा ठगिनु भएको छ ।

काठमाण्डौको बौद्ध बस्ने राई काम गर्न भने भक्तपुरको थिमि जानुहुन्छ । मोटरसाइकलमा आउजाउ गर्ने राई कम्तीमा महिनाको दुई/तीन पटक पेट्रोल भर्नुहुन्छ । कतिपय अवस्थामा हतार पर्दा हातैले पेट्रोल भर्ने (म्यानुअल) पेट्राेल पम्ममा तेल भर्नु परेको अनुभव छ राईको । यस्ता पम्पमा पेट्रोल भर्दा खुद्रा पैसा नहुने अनि पैसा मिलाएर दुई/तीन सयको भर्दा डिजिटल मिटर नभएका कारण धेरै घाटा हुने राईको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, ‘हतारमा डिजिटल नभएका पम्पमा तेल भर्दा म्यानुअल भएका कारण पैसा अनुसार तेल आउँदैन । यसले धेरै नै घाटा हुन्छ । अहिलेसम्म पनि यस्ता पम्पहरु छन् । यसलाई सरकारले चाँडै हटाउनुपर्छ ।’

हाते पम्पमा मात्र नभएर डिजिटल पेट्रोल पम्पमा पनि यस्ता ठगी हुने गरेका छन् । फरक फरक पेट्रोल पम्पमा उति नै पैसाको तेल भर्दा कम परिमाणमा आउने पाइन्छ । पेट्रोल भर्दा हावा धेरै आउने अनि आउँदा आउँदा पूरा नहाली बन्द गर्ने गरेको जस्ता गुनासा पनि छन् ।

राई भन्नुहुन्छ, ‘तीन/चार लिटर पेट्रोल हाल्दा फिर्ता आउनु पर्ने तीन/चार रुपैयाँ पेट्रोल पम्पवालाले फिर्ता दिँदैनन् । १५ सयको तेल हाल्न भन्यो भने पैसा चाहिँ १५ सय तर, तेल भने त्यो भन्दा कमको हाल्छन् । त्यस्तै तेल नआए पनि हावा मात्रै आउने गरेको पनि हुन्छ   ।’

ललितपुर लगनखेलकी रिना शाक्य भने डेरीको दूधमा ठगिनु भएको छ । शाक्य बिहान चिया खान दूध लिन पसलमा जानुहुन्छ । बिहान साढे ४८ रुपैयामा किनेको दूध उहाँ दिउँसो जाँदा भने ५० रुपैयाँ तिर्नुहुन्छ । पसलेले फ्रिजमा राखेको पैसा भनेर दूधको पैसा बढी लिने गरेका छन् ।

शाक्य भन्नुहुन्छ, ‘बिहानको त्यही दूध दिउँसो जाँदा डेढ रुपैयाँ बढी तिर्नुपर्छ । एउटै दूधको पैसा बिहान र बेलुका फरक हुन्छ र ? उनीहरुले अरु चिज पनि त फ्रिजमा राख्छन् नि त्यसको पनि बढी पैसा लिन्छन् त उसोभए ?’

बढ्दो महँगी तथा सीमित आम्दानीले घरपरिवार चलाउनु पर्ने आम नागरिकलाई यसरी व्यापारीहरुले सहजै ठगी गर्दा यसकाविरुद्ध कारबाही गर्ने संस्थाहरु भने मौन देखिन्छन् । उपभोक्ताको हक अधिकारका लागि भनेर गठन गरिएका उपभोक्ता मञ्चहरुले पनि यसमा खासै प्रभावकारी भूमिका निभाउन सकेको देखिँदैन ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बजारमा सामान किन्दा, गाडीमा यात्रा गर्दा, छोराछोरीलाई स्कुल पठाउँदादेखि कार्यालयमा सेवा लिन जाँदासम्म उपभोक्ता ठगिनु परेको बताउनुहुन्छ ।

बजारमा हुने यस्ता ठगीबाट जोगिन उपभोक्ता आफैँ सचेत हुनुपर्ने देखिन्छ । उपभोक्ता आफैँ सचेत भएर यस्ता ठगीकाविरुद्ध आवाज उठाउनुपर्ने देखिन्छ । साथै ठगीबाट कसरी जोगिन सकिन्छ भनेर पनि आफैँले विचार गर्नुपर्ने उहाँको सुझाव छ ।

तिमल्सिना भन्नुहुन्छ, ‘ठगीबाट जोगिन पहिले त उपभोक्ता आफैँ सचेत हुनुपर्छ । त्यसपछि मात्र अरु सम्बद्ध संघसंस्थाले यसमा सघाउने तथा सहयोग गर्ने हो । अनुसन्धान मञ्चले यस्ता उपभोक्ता ठगीका विषयमा आवाज उठाउँदै आएको छ ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया