काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा, चर्को गर्मीबाट केही राहत

 जेठ २२, २०८० सोमबार १६:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा पनि भएको हो ।

पछिल्लो तीन घण्टामा म्याग्दीको घोरेपानीमा रहेको मापन केन्द्रमा १९ दशमलव तीन मिलिमिटर र बैतडीको सन्तबाझमा १७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौको कीर्तिपुरमा पाँच दशमलव आठ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो काठमाण्डौ उपत्यकाका केही ठाउँसहित सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, कास्की, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, रुकुम, बाजुरालगायतका जिल्लामा रहेका मापन केन्द्रहरूले पानी परेको देखाएका छन् । तर पानी पार्ने प्रभावकारी प्रणाली नदेखिएकोले धेरैबेरसम्म पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही ठाउँमा वर्षाको सम्भावना छ । भोलि मङ्गलवार पनि पहाडी भू–भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण हिजो आइतवारको तुलनामा आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि तापक्रम बढेर तातो हावा चलेको तराईका जिल्लाहरूमा पनि आज तापक्रम केही घटेको छ । हिजो र अस्ति अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेका सबैजसो ठाउँको अधिकतम तापक्रम आज दिउँसो ४० डिग्रीभन्दा तल रहेको छ । आज तापक्रम केही घटेको भए पनि तराईका जिल्लामा अझै पनि तापक्रम बढेर तातो हावा चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया