बिजुलीकाे माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो, भारतबाट ५ सय मेगावाट आयात

 जेठ २४, २०८० बुधबार १७:२९:५३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – नेपालमा बिजुलीको माग बढेर अहिलेसम्मकै धेरै दुई हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो तीन दिनदेखि 'पिक आवर' अर्थात् सबैभन्दा धेरै बिजुली खपत हुने बेलुकाको समयमा दुई हजार मेगावाट बिजुलीको माग रहेको छ ।

तीन दिनयता अधिकतम माग नघटेको र उल्टै बढिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । चर्को गर्मीका कारण देशभर उच्च क्षमताका एसी, पङ्खा र फ्रिज चलिरहेको र यही बेलामा औद्योगिक माग पनि बढेकाले बिजुलीको खपत उच्च भएको उहाँको भनाइ छ । एसी र पङ्खा धेरै चल्दा माग धान्न नसकेर तराईका धेरै ठाउँमा झ्याप्प–झ्याप्प बिजुली जाने क्रम बढेको पनि भट्टराईले बताउनुभयो ।

माग बढ्दा विद्युत् प्राधिकरणलाई बिजुलीको जोहो गर्न हम्मे–हम्मे परेको छ । अहिले प्राधिकरण माताहतका कम्पनी र निजी क्षेत्रले बनाएका आयोजनाबाट ११ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । दिउँसोको समयमा भारतबाट पाँच सय मेगावाट आयात भइरहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो । दिउँसो भारतबाट सस्तोमा बिजुली आयात गर्ने र नेपालका आयोजनालाई कम क्षमतामा चलाउने र बेलुका पूर्ण क्षमतामा चलाउने गरिएको छ । माग उच्च हुने साँझको समयमा विद्युत् प्राधिकरणका जलाशय र अर्धजलाशयुक्त आयोजनालाई पूर्ण क्षमतामा चलाउने गरिएको प्राधिकरणले जनाएको छ । कुलेखानी, कालीगण्डकी, मध्य मर्स्याङ्दी, माथिल्लो तामाकोसीलगायतका सबै आयोजना साँझको समयमा उच्च क्षमतामा चलाउने गरिएको उहाँले बताउनुभयो  ।

जेठको पहिलो हप्ता देशभर पानी परेकाले खोला/नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन पनि बढेको थियो । त्यति बेला नेपालमा बिजुली धेरै भएर भारतलाई बिक्री भएको थियो तर अहिले सुक्खा लागेसँगै खोला/नदीमा पानीको बहाव निकै घट्दा प्राधिकरणलाई बिजुलीको माग धान्न मुस्किल परेको हो । ‘पानी पर्नासाथ हामीकहाँ बिजुली उत्पादन बढ्छ र हाम्रो मागभन्दा पनि धेरै उत्पादन हुन्छ, तर खडेरी पर्‍याे भने उत्पादन कुल क्षमताको ३० प्रतिशतसम्म झर्ने हुनाले व्यवस्थापन गर्न गाह्रो भएको हो’, प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो ।

नेपालका धेरैजसो जलविद्युत् आयोजना बगिरहेको पानीमा आधारित हुँदा खोला/नदीमा पानी धेरै हुँदा बिजुली उत्पादन बढ्ने र कम हुँदा उत्पादन घट्ने गरेको छ । नेपालमा सम्पन्न भएका जलविद्युत् आयोजनाको उत्पादन क्षमता तीन हजार मेगावाट पुगेको छ । तर अहिलेको यो खडेरीमा जम्मा ११ सय मेगावाटमात्रै उत्पादन भइरहेको छ । बर्खामा बिजुली उत्पादन धेरै भएर खेर जाने र हिउँद तथा खडेरीको समयमा बिजुली नपुग्ने समस्याको अन्त्यका लागि जलाशययुक्त आयोजनाको निर्माणमा सरकारले जोड दिइरहेको छ । जलाशययुक्त आयोजना भएमा बाँधमा पानी जम्मा गरेर बिजुली उत्पादन हुने भएकाले खडेरीमा पनि पूर्ण क्षमतामै बिजुली उत्पादन गर्न सकिन्छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया