प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकार उद्घाटन

 जेठ २५, २०८० बिहिबार १३:२४:४२ | रासस
unn.prixa.net

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो । 

बुटवल उपमहानगरपालिका– ३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म झन्डै तीन किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर  कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । 

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजा आराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनुभएको थियो । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।

यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाण्डौको चन्द्रागिरि र भर्खरै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । 

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘लुम्बिनी केबलकार सङ्घीय सरकार, लुम्बिनी प्रदेश सरकार, पालिका सरकारसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’ 

रुपन्देही र पाल्पा जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमनागरिकको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताउनुभयो । 

उहाँले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानको पनि घोषणा गर्नुभएको छ । यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गर्‍यौँ भने यही बाटो हुँदै मौलाकालिका, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने जानकारी दिनुभयो । 

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको लागत झन्डै पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काई वाक, जीपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । 

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको  छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले जानकारी दिनुभयो । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे तीन अर्ब रुपैयाँ लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया