शेयर बजारका ५६ लाख लगानीकर्ताकाे सुरक्षा गर्नु सरकारकाे दायित्व : अर्थमन्त्री

 जेठ २५, २०८० बिहिबार १३:४८:२३ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री महतले भन्नुभयो, ‘शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पनि बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।’

उहाँले शेयर बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताउनुभयो । त्यो जिम्मेवारीलाई उच्च महत्त्वका साथ धितोपत्र बोर्डले काम गर्ने र यसलाई अझ उचाइमा पुर्‍याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरूपमा गर्नुपर्ने भन्दै मन्त्री महतले शेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरूपमा सहयोग हुने बताउनुभयो । 

‘आउँदो आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो’, उहाँले भन्नुभयो ।

शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उहाँले पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरूको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताउनुभयो । 

शेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अर्थमन्त्रीको भनाइ छ । ‘शेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने र नाम भने ५६ लाख लगानीकर्ताको लिने प्रवृत्तिको अन्त्य जरुरी छ’, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री महतले सुझाव दिनुभयो । उहाँले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया