पहिचानवादीका नाममा एमालेमाथि आक्रमण भइरहेकाे छ, अब चुप लागेर बस्दैनाैँ : ओली

 जेठ २५, २०८० बिहिबार १८:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेकाे बताउनुभयो । उहाँले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेका छन् । हामीमाथि हमला भयो, कहिले बन्द भनेकाे छ, कहिले तोडफोड, कहिले अनेक छ । अब हाम्रो पार्टी किञ्चित डराउँदैन, झुक्दैन । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन । हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आराेप पनि लगाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया