पहाडी क्षेत्र र काठमाण्डाै उपत्यकामा चर्को महँगी

 जेठ २६, २०८० शुक्रबार १४:४४:११ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाण्डाै उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाण्डाै उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ । त्यस्तै तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २६ दशमलव ६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको आठ दशमलव २७ प्रतिशतले बढेको छ ।

गएकाे वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ । उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुई दशमलव ६८ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया