‘विद्युतीय गाडीमा कर तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आमनागरिकलाई असर गर्दैन’

 जेठ २६, २०८० शुक्रबार १५:५५:४२ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिकरूपमा प्रस्ताव गरिएको बताउनुभएको छ । 

राष्ट्रिय सभाको आज शुक्रवारको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय गाडीमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा आमनागरिकलाई असर नगर्ने बताउनुभयो । 

‘विद्युतीय गाडीमा कर वृद्धि तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आम नागरिकलाई समस्या परेको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो भ्रममा नपर्नु होला’, उहाँले भन्नुभयो, ‘विद्युतीय गाडीमा कर तर्कयुक्त ढङ्गले कायम गरेका हौँ, बढाएको होइन, कम क्षमताका गाडीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको हो ।’

कर लगाउँदा विद्युतीय गाडी छाडेर पेट्रोलियममा आधारित गाडीमा कोही पनि नजाने भन्दै उहाँले बजेटमा त्यसको सुनिश्चिता गरिएको बताउनुभयो । ‘तुलना गर्नुस् तल्लास्तरका पेट्रोलियम गाडीमा लागेको करभन्दा विद्युतीय गाडीमा लागेका करका दर धेरै कम छन्’, अर्थमन्त्री महतले भन्नुभयो, ‘राजस्व पनि साह्रै न्यून नहुने, विद्युतीय गाडीको प्रवर्धन पनि नघट्ने गरेर करका दर व्यवस्था गरेका छौँ ।’

अब विद्युतीय गाडीमा जानुपर्ने, पेट्रोलियम पदार्थको उपयोग घटाउने तथा यातायात क्षेत्रमा विद्युतको प्रयोग बढाउने उद्देश्यका साथ कम दर प्रस्तावित गरिएको उहाँको भनाइ छ । 

‘यसमा कुनै पनि दायाँबायाँ गरिएको छैन’, उहाँले भन्नुभयो । विद्युतीय गाडीमा करको दर सामान्य वृद्धि गर्न आफूले प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘आफैँ दर बढाउन प्रस्ताव गरेको छु मैले नै सूचना चुहाउँदै हिँड्छु ? म व्यापारीको पक्षमा भए त त्यही दर राख्थेँ नि ।’

विद्युतीय गाडीमा कर घटाउने अवस्था नरहेको र कर नघट्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘के यथावत् रहला, नत्र केही न केही बढ्छ ।’ स्वार्थ समूहले आफूले विद्युतीय गाडीमा कर बढाएको विषयमा हल्ला गरेको बताउँदै उहाँले एउटै गाडीमा दशौँ लाख फाइदा उठाउँदै आएका र उनीहरूको 'मार्जिन' घट्ने भएकाले रिसाएको बताउनुभयो । 

अर्थमन्त्रीले राजस्वलाई वैज्ञानिकरूपमा राखिएको, भ्याटको दायरालाई विस्तार गरिएको, स्थानीय उद्योग व्यवसायलाई प्रवर्धन गरिएको बताउनुभयो । उहाँले 'मेड इन नेपाल, मेक इन नेपाल' नारालाई सार्थक बनाउने विषय बजेटमा उल्लेख गरिएको प्रस्ट पार्नुभयो । 

‘विदेशबाट सामान ल्याएर यहीँ जोडजाड गर्छ, नेपालीलाई रोजगारी पनि दिन्छ, आन्तरिक अर्थतन्त्र गतिशील हुन्छ, त्यस कारण राजस्वका दर प्रस्तावित गरेका हौँ । करका दर प्रस्ताव गर्दा केही सामान्य त्रुटि भएर छुटेका हुन सक्छन्, नभए त्यस्ता उत्पादनलाई एक तहको संरक्षण गरेका छौँ’, अर्थमन्त्री महतले भन्नुभयो । 

यो सुविधाले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न ठूलो मद्दत गरेको उहाँको भनाइ छ । सरकारले सही मनसायले मात्रै काम गर्ने जनाउँदै उहाँले त्यसमा सत्तापक्ष र प्रतिपक्षको सहयोग रह्यो भने मात्र नेपाली अर्थतन्त्र फाइदामा रहने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया