चीनमा १३ वर्षीया किशाेरीले परिवारकाे बचत रकम माेबाइल गेममा सकिन्

 जेठ २६, २०८० शुक्रबार २०:२:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

मध्य चीनको हेनान प्रान्तमा १३ वर्षीया एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण परिवारको सम्पूर्ण बचत रकम सकिएकाे छ । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट गेम खेलेर ६४ हजार अमेरिकी डलर (८४ लाख रुपैयाँभन्दा धेरै) सकेकी हुन् । उनले १७ हजार डलर गेममा, २९ हजार डलर गेम एप्लिकेशन खरिद गर्न र १४ हजार डलर १० जना साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् । 

चार महिनाको अवधिमा याे रकम खर्च भएको हो । आमाको 'डेबिट कार्ड' प्रयोग गरेर मोबाइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो । 

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्न सक्ने गरी आफ्नो डेबिट कार्ड पासवर्डसहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च गर्‍याे भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाइँ भन्न नसकेको जवाफ उनले दिएकी छन् ।

अन्तिम अपडेट: भदौ २४, २०८०

तपाईको प्रतिक्रिया