उद्धार र राहत सरकारकाे उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

 असार ४, २०८० सोमबार १८:५०:५३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्खुवासभाको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको काम प्राथमिकताका साथ भइरहेको बताउनुभएको छ । 

सोमवार नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरो प्रभावित क्षेत्रकाे अनुगमन गर्न सङ्खुवासभा आइपुगेका प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोले पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतमा सरकार लागिरहेको बताउनुभयो । उहाँले प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरवारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाउनुभयाे । 

प्रभावित क्षेत्रमा राहत प्याकेजका लागि प्रधानमन्त्रीलाई अनुरोध र ध्यानाकर्षण गराएको बताउँदै त्यहीअनुसार कार्यक्रम आउने सङ्खुवासभाका सांसद दीपक खड्काले बताउनुभयो ।

प्रधानमन्त्री दाहालको साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । यस्तै प्रभावित क्षेत्रका जनप्रतिनिधि दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की पनि हुनुहुन्छ । 

अविरल वर्षाका कारण शनिवार राति आएको बाढी पहिरोमा परेर सङ्खुवासभाकाे पाँचखपन नगरपालिका–४ र चैनपुर नगरपालिका–९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावार कम्पनीमा कार्यरत १८, सभापोखरीका दुई र नुनढाकीका एक गरी २१ जना बेपत्ता भएका थिए । तीमध्ये अहिलेसम्म एक जनाको शव फेला परेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयाे । अहिले पनि वर्षा भइरहेकाेले बेपत्ताहरूको खाेजीमा समस्या भएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया