दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर ज्यान गयाे

 साउन १०, २०८० बुधबार १२:५५:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कअनुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय  ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् ।

तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा  जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८/७९ मा ६३ जना, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् ।  प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका–७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये धेरैजसो लापरबाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर धेरैजसो डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताउनुभयो । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो, ‘डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरबाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् । खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया