सडक मर्मत गर्न माग गर्दै स्थानीयले खाँदबारी–मानेभञ्ज्याङ सडक अवरुद्ध पारे

 साउन १४, २०८० आइतबार २०:१७:१० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारी–मानेभञ्ज्याङ सडक स्थानीयले अवरुद्ध पारेका छन् ।

आज (आइतवार) अरुण उपत्यका सामुदायिक विकास क्लबले विज्ञप्ति निकालेर मर्मतको माग गर्दै खाँदबारीको लभिङहिल—मानेभञ्ज्याङ—चिसोपानी ठूलोढुङ्गा सडक खण्ड अवरुद्ध पारेका हुन् । उनीहरूले सडक खण्डको बीच बाटोमा बाँसले बारेर ठूलोढुङ्गा र गैरीपांमा सडक बन्द गरेका छन् । 

क्लबका अध्यक्ष जिल्लामान राईले आफूहरू विकासको बाधक नभई साधक भएको बताउनुभयो । उहाँले वर्षाैँदेखि हिलाम्मे र खाल्डो नै खाल्डो भएको सडकमा कुन बेला दुर्घटना हुने हो भन्ने जोखिम बढ्नुका साथै यातायातका साधानसमेत सञ्चालन हुन नसक्ने अवस्था हुँदा समेत सरोकारवाला निकायहरू मौन बसेको भन्दै अन्तिम अस्त्रको रूपमा सडक नै बन्द गर्नुपरेको बताउनुभयो । 

यसअघि जिल्ला प्रशासन कार्यालय, उत्तर दक्षिण कोशी सडक कार्यालय, अरुण तेस्रो एसजेभीएन लगायतलाई सडक मर्मतको मागसहित साउन ५ गते ज्ञापनपत्र बुझाएको र मर्मत गर्ने आश्वासन पाए पनि अहिलेसम्म सडक मर्मत नभएपछि बन्द नै गर्नुपरेको अध्यक्ष राईको भनाइ छ । ‘ठेकेदार कम्पनीको लापर्बाही र ढिलासुस्तीका कारण पैदल यात्रा गर्नसमेत समस्या भएको छ । सडकको अवस्थाबारे पटक–पटक सडक विभाग र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि बाध्य भएर बन्द गरिएको हो’, उहाँले भन्नुभयो ।

सडक खण्ड अवरुद्ध भएपछि जिल्ला सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्र मकालु, चिचिला र भोटखोला गाउँपालिका आउजाउ गर्ने गाडीहरू बीच बाटोमा नै अलपत्र परेका छन् ।

खाँदबारीदेखि उत्तरी क्षेत्रको कोशी राजमार्गको सडककाे अवस्था बेहाल छ । खाँदबारीदेखि उत्तरी क्षेत्रको नुमसम्मको ३९ किलाेमिटर सडक कालोपत्र गर्ने भनेर ठेक्का लागेको दुई वर्ष नाघिसकेकाे छ । आउँदाे वर्षकाे असार मसान्तसम्ममा खाँदबारी–नुम सडक कालोपत्र सम्पन्न हुनपर्ने हो तर ठेकेदार कम्पनीको लापर्बाहीका कारण दुई वर्षमा २५ प्रतिशतमात्रै काम भएको उत्तर दक्षिण कोशी सडक कार्यालयले जनाएको छ । ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले अब ११ महिनाभित्र काम सम्पन्न गर्ने कुनै छाटकाँट देखिदैन ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया