गएको वर्ष २९ हजारभन्दा बढी पर्यटकले गरे म्याग्दीको भ्रमण

 भदौ २, २०८० शनिबार १३:५५:२५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गएकाे वर्ष २९ हजारभन्दा बढी पर्यटकले हिमाली जिल्ला म्याग्दीको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा २९ हजार तीन सय २८ जना पर्यटकहरुले जिल्लाको भ्रमण गरेका हुन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसपछि गएकाेवर्ष सबैभन्दा धेरै विदेशी पर्यटकहरुले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

गएकाे वर्ष म्याग्दी जिल्लाको भ्रमणमा २२ हजार २१ जना विदेशी पर्यटकहरु भित्रिएका छन् भने सात हजार तीन सय सात जना पर्यटक भ्रमण गरेर बाहिरिएका छन् ।

तीमध्ये जिल्ला भित्रनेमा ११ हजार ७० जना पुरुष तथा १० हजार नाै सय ५१ जना महिला छन् । यसैगरी भ्रमण सकेर बाहिरिनेमा तीन हजार आठ ४२ जना पुरुष र तीन हजार चार सय ६५ जना महिला रहेको तथ्याङ्क छ ।

म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको सङ्ख्यामध्ये १४ हजार नाै सय १२ जना पुरुष छन् भने महिलातर्फ १४ हजार चार सय १६ जना रहेको प्रहरीले जनाएको छ ।

गएकाे वर्ष सबैभन्दा धेरै कात्तिक महिनामा पाँच हजार छ सय २० जना र सबैभन्दा कम असार महिनामा चार सय ९० जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

म्याग्दीको भ्रमण गर्नका लागि विदेशी मुलुक बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताईवानबाट पर्यटकहरु आउने गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुवँरले बताउनुभयो ।

म्याग्दीको भ्रमणमा धेरैजसाे पर्यटकहरु कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन शिकार आरक्ष र छिमेकी जिल्ला मुस्ताङबाट आउने र जाने गर्दछन् । गएकाे वर्ष पर्यटक कम आउनुमा चुनावको समय, आर्थिक मन्दी र सरकारले पर्यटकलाई अनिवार्य गाइडको व्यवस्था गरेकाले घटेको अनुमान लगाइएको छ ।

तर कोरोना र लकडाउनपछि गएकाे वर्षको पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा भने वृद्धि हुँदै गएको देखिन्छ ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु धेरैजसाे सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र हिमाली जिल्ला मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटक आउँछन् ।

यसैगरी कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत् सिधै हवाईमार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् ।

म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले तथ्याङ्कमा पर्यटकहरु म्याग्दीको भ्रमणमा धेरै देखिए पनि जिल्लामा न्यून मात्रामा बस्ने गरेको बताउनुभयो । उहाँले पर्यटकको बसाई लम्ब्याउनका लागि आवश्यक पूर्वाधारहरुको निर्माण गरी पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने धेरैजसाे पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।

त्यस्तै सिङ्गा र भूरुङ–तातोपानीको कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट मनोरम दृष्यावलोकन गर्नका लागि पर्यटकहरु आउने गरेका छन् ।

पछिल्लो समय नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएपछि विदेशी पर्यटकहरुको तुलनामा स्वदेशी पर्यटकहरु धेरै घुम्ने गरेका छन् । तर विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरिएको भए पनि स्वदेशी पर्यटकहरुको भने तथ्याङ्क राख्ने गरिएको छैन । म्याग्दीको भ्रमणमा पनि विदेशीको तुलनामा स्वदेशी धेरै आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया