पहिलो प्याराग्लाइडिङ विश्वकप स्याङजामा सुरु(तस्बिरसहित)

 कात्तिक १५, २०७५ बिहिबार १९:३१:२६ | राधाकृष्ण डुम्रे

स्याङ्जा – स्याङ्जामा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप २०१८ बिहीबार सुरु भएको छ । 

प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजना तथा स्याङ्जाका ११ वटै स्थानीय तहको संयोजकत्वमा प्रतियोगिता सुरु भएको हो ।

पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप २०१८ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलक्षेत्र नेपाल चिनाउने र आर्थिक समृद्धिको आधार भएको बताउनुभयो ।   

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर –५, स्वरेक महापुर मैदानबाट उडेर र वालिङ नगरपालिका वडा नम्बर –५, डौंवाफाँटमा उत्रने गरी प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप सुरु भएको हो । विश्वकप कात्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान , इरानलगायत २१ देशका ९८ जनाले प्रतिस्पर्धा गर्ने संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिनुभयो । 

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडी रहनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्नेछ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेन्टीमिटरको हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजक शैलेन्द्रले बताउनुभयो ।

नेपालले हालै इन्डोनेसियाको जकार्ता र पालेङवाङमा सम्पन्न भएको १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङले नेपाललाई एकमात्र पदक दिलाएका थिए । स्वरेक मैदानलाई प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गरी रहेको संघले जनाएको छ । यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।

नेपालले क्रसकन्ट्रीमा आफूलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औं एसियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडि पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाइना लिनझाउ प्याराग्लाइडिङ प्रि–विश्वकपमा नेपालका विशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । 

यसका साथै इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भइसकेको संघले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया