पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकाे ड्रुुक एअरको व्यावसायिक उडान

 भदौ २३, २०८० शनिबार १३:८:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ । 

भुटानको राजधानी थिम्पुमा रहेकाे पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको जहाज यहाँबाट ८ बजेर १५ मिनेटमा ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

चार्टर्ड उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिनुभयाे । उहाँले नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एअरले तिरेको बताउनुभयाे  ।

भुटानको पारो विमानस्थलबाट शनिवार बिहान ५ बजेर ५५ मिनेटमा उडेको ड्रुक एअरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४० मिनेटमा अवतरण भएको थियो । १ सय ५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किँदा ४२ जना यात्रु फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए ।

पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका उहाँले बताउनु भयाे ।  ड्रुक एअरका पाइलट भुटानको वरिष्ठ पाइलट भएको र जहाज ल्याण्डिङ गर्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिएको कर्णले बताउनुभयाे ।

पोखराबाट भुटान जाने पर्यटक नेपालमा चार दिन पहिले आएका थिए । अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने, महँगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका थिए । नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीका अनुसार चार्टर्ड जहाजमा फर्किएका पर्यटकले दिनमै ७/८ सय डलरसम्म खर्च गरेका थिए । उनीहरुले चार दिनमा नेपालमा मात्रै करिब साढे २ करोड रुपैयाँ खर्च गरेका ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले जानकारी दिनुभयाे ।

भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषद्ले एअरपोर्टमा स्वागत गरेको थियो भने जानेलाई बिदाइ गरेकाे थियाे । विमानस्थलमा आउने र जाने पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गएकाे असार ६ गते बुधवार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एअरलाइन्सको एअरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया