रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण, सबै सकुशल

 भदौ २६, २०८० मंगलबार १६:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।

रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक रहेकाे एक मैदानमा उरल एअरलाइन्सको एअरबस ३२० विमानलाई चालक दलका सदस्यले आपत्कालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबै जना सकुशल रहेका बताएका छन् ।

‘सोची–ओम्स्क रुटमा उडिरहेको उराल एअरलाइन्सको एअरबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन’, मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ ।

रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एअरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको ठाउँकाे प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।

विमान कम्पनी उरल एअरलाइन्सले भने प्राविधिक समस्याका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एअरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधान कार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।

युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयनमा ठूलो समस्या झेलिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया