म्याग्दीको भर्जुलामा भदौमै पाक्यो सुन्तला

 भदौ २७, २०८० बुधबार ७:५०:२० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित भर्जुला गाउँमा यसवर्ष भदौ महिनामै सुन्तला पाकेको छ । भर्जुलाका स्थानीय बमबहादुर शेरपुञ्जाले आफ्नो बारीमा लगाएको जापानीज प्रजातिको ‘मेगावासे’ सुन्तला पाकेको हो ।

शेरपुञ्जाको बारीमा लटरम्मै फलेका सुन्तला पहेँलपुर भएर पाकेपछि अहिले बिक्रीको तयारी शुरु भएको छ । सुन्तला उत्पादनका लागि भर्जुला उपयुक्त हावापानी भएको क्षेत्रको रुपमा चिनिन्छ । कृषक शेरपुञ्जाले बारीमा लगाएका २५ बोटमा फलेको सुन्तला पाकेपछि बिक्री गर्ने तयारी थालेको जानकारी दिनुभयो ।

बेमौसममा फलेका कारण सुन्तला बिक्रीका लागि बजारको अभाव नभएको बताउँदै कृषक शेरपुञ्जाले परीक्षणको रुपमा लगाएको सुन्तलाले व्यावसायिक उत्पादन दिएको बताउनुभयो । उहाँले प्रतिकेजी दुईसय ५० रुपैयाँसम्म बिक्री हुने मेगावासे जातका सुन्तलाको दाना ठूला र निकै स्वादिलो हुने भएकाले गाउँमा पहिलोपटक उत्पादन भएको सुन्तला घरायसी प्रयोजन र आफन्तलाई कोसेलीसमेत दिने गरेको बताउनुभयो ।

कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्तादेखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

मौसमी र बेमौसमी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने योजना रहेको बताउँदै कृषक शेरपुञ्जाले असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु र जापानीज मेगावासे प्रजातिको सुन्तलालेसमेत उत्पादन दिएको बताउनुभयो ।

कलमी गरेर थप सुन्तलाको बिरुवा गाउँभरी विस्तार गर्ने कृषक शेरपुञ्जाको योजना छ । भर्जुला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका शेरपुञ्जाको फार्ममा ड्रागन फुड, एभोकाडो, अङ्गुर, जापानीज जुनार लगायतका फलफूलहरुकोसमेत उत्पादन हुन्छ । भर्जुला गाउँको अगुवा कृषक शेरपुञ्जाले गाउँमा बेमौसमी तथा आधुनिक प्रजातिका फलफूलहरु भित्र्याउनुभएको छ ।

स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका शेरपुञ्जाले आधुनिक कृषि पेशा अपनाएको स्थानीय बालोदय आधारभूत विद्यालयका शिक्षक मनकुमार जुग्जालीले बताउनुभयो । वडा भित्र व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्र म्याग्दीबाट बेमौसमी सुन्तला खेतीको सम्भावनाको बारेमा थप जानकारी लिएर कृषकहरुलाई सघाउने वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।

कुहुँको भर्जुलासहित उपयुक्त हावापानी हुने क्षेत्रमा सुन्तला खेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, निःशुल्क बिरुवा वितरण लगायतका प्राविधिक सहयोग गरिनेछ । म्याग्दीमा पछिल्लोपटक सुन्तला खेती फस्टाउन थालेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया