हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प

 भदौ २९, २०८० शुक्रबार ८:३०:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटाैँडाको सञ्चाे अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटाैँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटाैँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताउनुभयो । हेटाैँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिएका डाक्टर खड्काले बताउनुभयो ।

हेटाैँडा अस्पतालमा मात्र हरेक दिन १५ सय जनाभन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिँदै आएका छन् । त्यहाँका निजी अस्पतालमा पनि बिरामीको त्यति नै चाप हुने गरेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) मै डाक्टरमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । अस्ति बिहान हेटाैँडा–१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो ।

डेङ्गीका कारण एक महिनाअघि ज्यान गुमाएका हेटाैँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी अस्ति डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना भएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्टै चितवन रेफर गरिएको थियो ।

प्रधानलाई दोस्रो पटक डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने उहाँलाई मधुमेह र उच्च रक्तचाप पनि थियो । उहाँको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् ।

स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । डाक्टरमाथि कुटपिट गर्ने चार जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

कार्यस्थलमा डाक्टरलाई कुटपिटबाट शारीरिक रुपमा चोटपटक पुर्याउनेलाई ३ वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । कुटपिटमा संलग्नलाई पूर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था पनि रहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया