डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिनकाे म्याद थप

 भदौ २९, २०८० शुक्रबार २०:३४:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज शुक्रवार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गरिएको हाे । कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले पीडित डाक्टरले दिएको जानकारी र सीसीटीभी क्यामेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारबाही हुने बताउनुभयो ।

घटना विवरणअनुसार गएकाे साउन २५ गते डेङ्गीबाट सङ्क्रमित हेटाैँडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले डाक्टरहरू थापा र बिडारीमाथि गएकाे बुधवार हातपात तथा कुटपिट गरेका थिए ।

सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गी सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले मृतकका आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए ।

डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज शुक्रवार हेटाैँडामा रहेका सरकारी, निजी तथा क्लिनिकका डाक्टरले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा. थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा. बिडारी हेटाैँडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।

यसैबीच कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै हेटाैँडा अस्पतालका ७८ जना चिकित्सकले सामूहिकरूपमा अस्पतालका सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामा दिएका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया