प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

 भदौ ३०, २०८० शनिबार १८:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारले बताएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया