स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई
असोज १२, २०८० शुक्रबार
खाेटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने ठेकेदारको ग्रेडर मेसिन नियन्त्रणमा लिएको छ ।
दिक्तेल–खोटाङबजार सडक अन्तर्गत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बीएनटी जेभीको ग्रेडर नियन्त्रणमा लिएको हो ।
सडक स्तरोन्नतिको काम अलपत्र पारेर छाडेको केही समयपछि निर्माणस्थलबाट उठाएर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ नेर्पाको भुलभुलेमा पुर्याइएको ग्रेडर नियन्त्रणमा लिइएको नगरका प्रवक्ता दिनेश घिमिरेले बताउनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधिले ‘मेसिन कन्डिसनमा भए/नभएको जाँच गर्न आएको’ भन्दै ग्रेडर स्टार्ट गरेर गुडाएका थिए । ठेकेदार सम्पर्कविहीन बनेको महिनौंँपछि मेसिन उठाएर हिँडाएपछि स्थानीयले नगरपालिकालाई खबर गरेका थिए । प्रहरीको टोलीसँग पछ्याउँदै जाँदा नभेटेपछि बाटोमा पर्ने प्रहरीचौकी दोर्पाचिउरीडाँडाका प्रहरीलाई परिचालन गरेर ग्रेडर नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
नगरपालिकाले बाटैमा रोकेपछि ठेकेदारको प्रतिनिधिले ग्रेडरको पाङ्ग्राको हावा खुस्काएर हिँडेका पाइएको छ । ग्रेडर मेसिन छुटाउनका लागि राजनीतिक दबाब आइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नति गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले ठेक्का लिएको हो । याे निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको अवस्थामा २०७९ कात्तिक २० गते नगरपालिकाले ढुकुछु/बगाले/बीएनटीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो । मेसिनमा ताला लगाएको केही समयपछि काम सञ्चालन गराएको निर्माण व्यवसायीले पुःन काम अलपत्र बनाएका छन् ।