दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...

 असोज ६, २०८० शनिबार १३:१३:८ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - शिक्षणको सिलसिलामा तराईको रौतहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।

विसं २०५० सालमा शिक्षणको सिलसिलामा यहाँ आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेकाे जनजागृति माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्यता रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुभएका उहाँलाई फरक भूगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो ।

तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा बिस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराउनु भएन, जीवनको महत्त्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुग्नुभयो ।

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गर्नुभएका आलमले २३ पर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाल्नुभयो । तराईदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गर्नुभएका आलम अनिवार्य अवकास भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् । यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुनुहुन्छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् । 

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिङ्गो गाउँवासीले उहाँलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए ।

एउटै विद्यालयमा तीन दशकभन्दा बढी समय खर्चनु भएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिनुभयो ।

बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरुसहित शिक्षक आलम समेत  भावुक बन्नुभएको थियो । बिदाइमा सबैका आँखा रसाएका थिए । बिदाइ भएर जाँदै गर्नुभएका शिक्षक आलमले आफू सेवा निवृत्त भएर घर जान लागेकोमा खुसीभन्दा जीवनको तीन दशक समय बिताएका गाउँ छाडेर जानुपरेकोमा आफू भावुक भएको बताउनुभयो । शिक्षणबाट अवकाश लिएपछि आफूलाई पारिवारिक रुपमा घरपरिवासँग सँगै बस्ने वातावरण भए पनि जीवनको उर्जावान् समय बिताएको गाउँसँग टाढिन परेकोमा आफू दु:खी भएको उहाँले बताउनुभयो ।

' हिजोका ती सबै दुःख आज तपाईँहरुले देखाउनुभएको मायाँले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईँहरुको मूल्याङ्कनको विषय हो, तर तपाईँहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाइलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यवाद'आलमले भन्नुभयो ।

यही असोज ३ गते नियमित अवकास लिनुभएका शिक्षक आलमलाई गाउँमा बिदाइ गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घसेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गर्नुभएको थियो । रौतहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विसं २०५० सालमा म्याग्दी आउनुभएको थियो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गर्नुभएको थियो ।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ सालमा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन शुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ सालदेखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत वहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो । विसं २०५० साल वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पनुभएका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यसअघि नगद एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएको थियो 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया