भारतको राजस्थानबाट मनसुन बाहिरियो, नेपालमा कमजोर बन्दै

 असोज ८, २०८० सोमबार २०:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतको राजस्थानबाट मनसुन बाहिरिएको औपचारिक घोषणा भएको छ । नेपालमा मनसुन भित्रने क्रम पूर्वबाट शुरु हुने र बाहिरिने क्रम पश्चिमबाट शुरु हुने भएकोले राजस्थानबाट मनसुन बाहिरिनुलाई नेपालमा पनि मनसुन कमजोर हुन थालेको सङ्केतका रूपमा लिइन्छ ।

नेपालबाट मौसम बाहिरिने औसत मिति अक्टुबर २ पनि नजिकिएको छ । अघिल्लो वर्षको तथ्याङ्कअनुसार राजस्थानबाट मनसुन बाहिरिएको एक हप्तापछि नेपालबाट बाहिरिएकोले यस वर्ष पनि त्यही आसपासमा बाहिरिन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । तर राजस्थानबाट मनसुन बाहिरिएपछि पनि हावाको गति लगायतका कारणले प्रभाव पार्ने भएकोले नेपालबाट बाहिरिन केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो ।

तीन दिन ठूलो पानी पर्दैन

नेपालमा केही दिनदेखि मनसुन कमजोर बनेको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तु र आसपासका क्षेत्रमा बाहेक अन्यत्र ठूलो पानी परेको छैन । मौसम पूर्वानुमान माहाशाखाले आज साेमवार बेलुका ६ बजे निकालेकाे मौसमी बुलेटिनमा पनि अबका तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको उल्लेख छ । आज बिहान पनि कपिलवस्तु र आसपासमा ठूलो पानी परेकोले केही ठाउँमा अझै ठूलो पानी पर्ने सम्भावनालाई भने नकार्न नसकिने उहाँले बताउनुभयो ।

यो मनसुनमा कम वर्षा

जल तथा मौसम विभागको तथ्याङ्कअनुसार नेपालमा यो वर्ष मनसुन शुरु भएपछि आजसम्म एक हजार दुई सय ९५ मिलिमिटर औसत वर्षा भएको छ । जुन मनसुन अवधिमा हुने कुल औसत वर्षा एक हजार चार सय ७२ मिलिमिटरको ८८ प्रशित हो । यो वर्षा औसतभन्दा कम रहेको मौसमविद् झाले बताउनुभयो ।

विभागले यस वर्ष मनसुन शुरु हुनुअघि नै कम वर्षाको अनुमान गरेको थियो । अब मनसुन सक्रिय रहने समय पनि कम रहेकोले मनसुनको वर्षा औसतमा पुग्ने सम्भावना कम रहेको मौसमविद् झाले बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया