पाेखरामा बजार अनुगमन : म्याद गुज्रेका सामान बेच्ने पसललाई १ लाख रुपैयाँ जरिबाना

 असोज ८, २०८० सोमबार २०:२७:० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – अनुगमन समिति कास्कीले पाेखरामा बजार अनुगमन गरेको छ । आज साेमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका–७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ । स्टाेर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो ।

स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल 'लेबलिङ' नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल १५ प्याकेट लगायतका झन्डै २९ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले जानकारी दिनुभयाे ।

त्यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै समितिले चेतावनी पनि दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

अनुगमनकै क्रममा पोखरा–३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सबाट म्याद गुज्रेका १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी १० हजार रुपैयाँ जरिबाना गरेको संयोजक ढकालले बताउनुभयाे ।

त्यसैगरी पालिखे चाेकमै रहेकाे रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेका ११ किलो सुजी नष्ट गरी पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । याे पसललाई समितिले ५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया