पुष्पा र अञ्जलीलाई आज कोशी टप्पु वन्यजन्तु आरक्षमा छाडिने

 असोज ९, २०८० मंगलबार ७:६:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई मङ्गलवार आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उहाँले भन्नुभयो, 'शीतल दिन भयो भने चाँडै नै पठाउँछौँ, गर्मी भयो भने पनि २ बजेभित्र पठाउँछौँ ।' दुई वटा खोरमा अलगअलग राखेर गैँडा पठाइँदैछ ।

गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी जानेछ । वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी जानेछन् ।

बुधवार गैँडालाई कोशीमा पुर्याएर खुल्ला खोरमा राखिने छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लैजान लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।

शुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडा राखिँदै छ ।

प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरेर छोडिने छ । केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । त्यहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गएकाे वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैँडा हुन् ।

ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेका अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ । अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन् । ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । 

पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् ।

अहिले पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ । निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा गैँडा पठाइएको थियो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया