विश्व पर्यटन दिवस मनाउन ठाकुरबाबा नगरपालिकामा आज सार्वजनिक बिदा

 असोज १०, २०८० बुधबार ९:५२:३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज ४४ औँ विश्व पर्यटन दिवस मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ । नगर अस्पताल बाहेक नगरपालिका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिका तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको आयोजनामा ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा आज प्रदेश स्तरीय विश्व पर्यटन दिवस मनाउन लागिएको मेयर तिलकराम लम्सालले बताउनुभयो ।

‘बाघ मात्र होइन सांस्कृतिक र प्राकृतिक हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउनु छ, त्यसैले बर्दियाका होमस्टे, पर्यटकीय क्षेत्र र प्राकृतिक वातावरणलाई प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको छ,’ उहाँले भन्नुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्ज मूल गन्तव्यसहित बर्दियालाई चिनाउनकै लागि यस वर्षको प्रदेश स्तरीय विश्व पर्यटन दिवस बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा मनाउन लागिएको उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो ।

विश्व पर्यटन दिवस मनाउन प्रदेश तथा जिल्लाका सरोकारवालासहित ३६ सदस्यीय मूल समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया