नेपालमा मल कारखाना स्थापनाका लागि मलेसियाकाे कम्पनीले सम्भाव्यता अध्ययन गर्ने

 असोज १०, २०८० बुधबार १७:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियाको कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र मलेसियाको रिनिकोला एसडीएन बीएचडी कम्पनीबीच आज बुधवार समझदारी भएको हो । समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोला कम्पनीका प्रबन्ध निर्देशक भौमहिदी अब्देलालीले हस्ताक्षर गर्नुभएको छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७७ अनुसार रिनिकोला कम्पनीले विद्युतको प्रयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित मल उत्पादन गर्न गएको पुस १४ गते अध्ययन अनुमति मागेको थियो । मलेसियन कम्पनीको प्रस्तावलाई भदौ ३० गते बसेको बोर्डको ५५ औँ बैठकले स्वीकृत गरेको थियो ।

रिनिकोलाले अनुमति पत्र प्राप्त गरेको २४ महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई उपलब्ध गराई सक्नुपर्ने समय सीमा तोकिएको छ । दुई सय ६० मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३५ अर्ब रुपैयाँ अनुमानित लागत खर्च परियोजनाको छ । प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नाै सय ७५ टन टन ग्रीन क्याल्सियम नाइट्रेट मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अन्तिम अपडेट: असोज १७, २०८०

तपाईको प्रतिक्रिया