पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध

 असोज १६, २०८० मंगलबार १०:२९:९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पहिराेका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो ।

वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।

बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन् । 

पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको छ । अहिले सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका छन् । वर्षा रोकिएपछि मात्रै सडक मर्मत गरेर खुलाइने प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको कार्य अहिले पनि भइरहेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।

त्यस्तै, पश्चिम म्याग्दीको मङ्गला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम र म्याग्दी जोड्ने दुई जिल्ला बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडक खण्ड पनि वर्षातकाे समयमा पटकपटक अवरुद्ध हुँदै आएको छ ।

यस सडक खण्डको पनि विभिन्न ठाउँमा सडक स्तरोन्नति र विस्तारको काम हुँदै आइरहेको छ । वर्षाकै कारण म्याग्दी सदरमुकामदेखि ग्रामीण जोड्ने सडक पनि हिलाम्मे भएका छन् । वर्षाले सडक अवरुद्ध बनेपछि यात्रु तथा नागरिकले सास्ती बेहोरेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया