बझाङ भूकम्प : बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भेटियो

 असोज १७, २०८० बुधबार ७:५५:१२ | डीबी बिष्ट
unn.prixa.net

फाइल तस्बिर

बझाङ - बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही  घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।

भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भिर र छविस पाथीभेराको जालेबगरलगायतका ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पराकम्प आइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, डोटी, बैतडी र भारतको दिल्लीसम्म महसुस गरिएको थियो ।

याे पनि पढ्नुहाेस् ।

पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दाले घरबाहिर खुला चौरमा बसेर रात कटाएका छन् । दिउँसोको समय भूकम्प गएको र घरमा कोही नभएको बेला हुनाले पनि मानवीय क्षति हुनबाट जोगिएको स्थानीय जनप्रिय माविका प्रध्यानाध्यापक पद्म खड्काले बताउनुभयो । जिल्ला अस्पताल बझाङले खुला चौरमा नै उपचार सेवा दिएको छ ।

यस्तै, जिल्ला बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले खप्तड छेडेदह गाउँपालिका, बूढीगङ्गा र बडीमालिका नगरपालिकालगायत क्षेत्रमा थुप्रै घरहरू चर्किएको र भत्किएका र क्षतिको विवरण सङ्कलनका लागि सुरक्षाकर्मी खटिएका बताउनुभएको छ । भूकम्पले बैतडीमा दुई जना घाइते भएका छन् । त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनमा क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया