‘भिजिट भिसाको भर पर्दा दुई वर्षसम्म श्रीमानको बिचल्ली भयो, चार वर्षमा पनि ऋण तिर्न सकिएन’

 असोज १८, २०८० बिहिबार १७:३५:४५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उमा दुवाडी/धादिङ ।

विदेश जाने बित्तिकै श्रीमानले काम पाउन् । दुःख नहोस् । काम सजिलो परोस् । साहुको ऋण समयमा तिर्न सकियोस् । अनि बालबच्चाको लालनपालन पनि राम्रोसँग गर्न सकियोस् ।

वैदेशिक रोजगारीमा श्रीमान् हुने मजस्ता धेरै श्रीमतीहरूले यही सोच्नुहुन्छ होला । तर सोचेजस्तो सधैँ हुँदैन र सोचेको पुग्दैन पनि । अझ कहिलेकाहीँ त नसोचेको हुन्छ । 

२०७७ सालको माघको कुरा हो मेरो श्रीमान् रोजगारीका लागि यूएई जानुभयो । तर काम गर्ने भिसामा होइन भिजिट भिसामा । मलाई भने भिजिट भिसामा काम गर्न गएको उतिसारो चित्त बुझेको थिएन । दुःख पाइन्छ, काम पाइँदैन भन्ने यता कता सुनेकाले पनि भोलि आफूले पनि त्यही दिन भोग्न पर्‍यो भने त के होला भन्ने थियो । 

यूएई त पुग्नुभयो तर उता पुग्नासाथ कोरोनाको कारण लकडाउन भयो । सबैतिर लकडाउन भएपछि त यस्तो आपत पर्‍यो नि जुन कुरा सम्झदा मात्रै पनि अहिले मुटु फुट्ला जस्तो हुन्छ । 

काम पनि पाउनुभएको थिएन । खाने बस्ने ठेगान केहीको पनि भएन । एकतिर श्रीमान् भोकै परे भन्ने पिर त अर्कोतिर रोगको डर । न त नेपाल आउन मिल्छ । जहाजहरू सबै बन्द । कति दिन त सडककै बास भयो भन्नुहुन्छ अहिले मेरो श्रीमानले तर त्यो बेलामा त मलाई धेरै कुराहरू भन्नु नै भएको थिएन । सायद उहाँलाई मलाई पिर नपरोस् भन्ने थियो होला ।

यता घरमा चार जना बालबच्चा अनि उहाँले जाने बेला काढेको करिब तीन लाख रुपैयाँ ऋणको पिर । अब विदेश गएको मानिसले काम नै नपाएपछि कसरी ऋण तिरौँ भन्ने पिरले रात भरी निद्रा लाग्दैन थियो । अर्कोतिर चार जना छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता ।

यही पिरले मलाई त रात भरी निद्रा नलाग्ने, छटपटी हुने, कोहीसँग बोल्न मन नलाग्ने, रुन मात्र मन लाग्ने हुन थाल्यो । यतिसम्म कि छोराछोरीदेखि पनि झर्को लाग्न थाल्यो । कहाँ गएर मरौ‌ंजस्तो लाग्ने । मर्न पाए त आनन्द हुन्थ्यो भन्ने अनुभव मात्र हुन थालेको थियो । 

फेरि बालबच्चा सम्झन्थेँ । उता बुवाको यो अवस्था छ म पनि भइनँ भने त छोराछोरीको हालत के होला भन्ने पिरले मर्ने आँट आएन । नत्र त कयौँ पटक मर्छु भन्ने सोचसमेत आएको थियो ।

एक दिन सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत नगरपालिकामा कार्यरत मनोपरामर्श सरसँग भेट भयो । उहाँले वैदेशिक रोजगारी सम्बन्धी कुनै समस्या छ भने कल गर्नु भनेर नम्बर छाडेर जानुभएको थियो ।

सुरुवातमा त कसरी आफ्नो समस्या सुनाउने भन्ने भएको थियो । तर समस्या परेपछि आँट पनि आउने रहेछ । भन्न पाए केही हुन्थ्यो कि भन्ने लाग्यो । अनि सरलाई फोन गरेर आफ्नो र श्रीमानले यूएईमा भोगेको समस्या सुनाएँ । उहाँले पिर नगर्नुहोस् तपाईँको श्रीमानलाई कुनै अप्ठेरो परेमा कार्यक्रमले पनि स्वदेश झिकाउन सहयोग गर्छ भन्नुभयो ।

मलाई पनि विभिन्न उपायहरू सिकाउने भयो । उहाँले परामर्श पनि दिनुभयो । जुन कुरा मलाई काम लाग्यो । बिस्तारै निद्रा नलाग्ने, छटपटी हुने डर लाग्नेजस्ता समस्याहरू हट्दै गयो ।

सायद मलाई त्यो समयमा परिस्थितिले नै त्यस्तो बनाएको थियो । सबै कुरा एकै पटक आइपर्‍यो । 

बिस्तारै संसारभरि नै कोरोनाको असर कम हुँदै गयो । दुई वर्ष यसै बसेर पनि श्रीमानले दुई वर्षपछि काम पाउनुभयो । अहिले त महिनाको ३०/३५ हजार रुपैयाँ कमाउन थाल्नुभएको छ । एक रुपैयाँ पनि कमाइ नहुनुभन्दा त हामी दुःखीका लागि यो पनि कति हो कति राम्रो भयो । 

तर चिन्ता ऋणको छ । चार वर्ष भइसक्यो । साहुको ऋण दोब्बर भइसक्यो । साहुअरुले घेरिरहेका छन् । खै त तिरेको भन्दै विभिन्न कुराहरू सुनाइरहनुहुन्छ । अब आत्तिएर, रोएर, कराएर पनि त नहुने रहेछ । बिस्तारै तिर्छु उहाँले बल्ल त कमाउन थाल्नुभएको छ भन्दै साहुहरूलाई सम्झाउने गरेको छु । 

घरमा नानीबाबु दिनदिनै हुर्कँदै छन् । यिनीहरूले अक्षर नचिन्नी हुन कि भन्ने डर थियो । अहिले त म आफू मानसिक रूपमा स्वस्थ भएपछि उनीहरूलाई स्कुल पठाउने गरेको छु ।

चार वर्ष भयो छोराछोरीले बुवाको मुख नदेखेको । बुवा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छन् । उहाँलाई कसरी घर बोलाउनु ऋण नै तिरेको छैन । साहुले के भन्लान् भन्ने पिर छ ।

जाने बेलामा एजेन्टले त महिनाको ५० हजारभन्दा बढी कमाइ हुन्छ भनेका थिए । दिनहुँ यही आशा देखाएर फोन गरेका पनि हुन् । उनीहरूले साढे दुई लाख पैसा पाए । तर हामीले जीवनभरिका लागि दुःख पायौँ ।

जता हेरे पनि खाल्डो मात्र छ । तर आज दुःख छ भनेर आत्तिन हुँदैन भोलि सुखका दिन पनि आउँछन् भन्ने आसमा दुःखसँग लड्न मलाई मनोपरामर्शले नै सिकाएको छ । सधै यस्तो नहोला । एक दिन त राम्रो दिन पनि आउला भन्ने आसै आसमा बाँचेको छु ।

अन्तिम अपडेट: फागुन १४, २०८०

तपाईको प्रतिक्रिया