रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

 असोज २२, २०८० सोमबार १६:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ ।

अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो ।

युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो ।

पछिल्लो समय युरोपेली देशमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । संस्थागत रूपमा श्रमिकहरू पठाउन नसक्दा व्यक्तिगत माध्यममार्फत लाखौँ रुपैयाँ तिरेर श्रमिकहरू युरोप रोजगारीमा गइरहेका छन् ।

श्रमिकको रोजाइ र सुरक्षाको हिसाबले पनि खाडीका देशभन्दा युरोपेली देश राम्रो भएकाले सरकारले पछिल्लो समय युरोपका देशहरूसँग श्रम समझदारी गर्दै लैजाने योजना बनाएको सहसचिव पोखरेल बताउनुहुन्छ । 

उहाँका अनुसार दुई देशबीच हुने यो श्रम समझदारीले नेपालीका लागि सुरक्षित रोजगारीको ढोका खुल्ने र यसले नेपाली श्रमिकको सामाजिक सुरक्षा लगायत थुप्रै कुराको प्रत्याभूत गर्ने छ ।

यसअघि खाडीका देशहरूसँग भएको श्रम समझदारीभन्दा युरोपेली देश रोमानिया र जर्मनीसँग हुने श्रम समझदारीको प्रकृति केही फरक छ ।

सहसचिव पोखरेल भन्नुहुन्छ ‘युरोपका देशमा सामाजिक सुरक्षा, तलब लगायत थुप्रै कुराको व्यवस्था खाडीका देशको तुलनामा राम्रो भएकाले पनि यी देशसँग हुने श्रम समझदारी अलिक फरक प्रकृतिको हुन्छ ।’

नेपालले जर्मनीसँग भने प्रशिक्षार्थी श्रमिक पठाउने गरी श्रम समझदारी गर्न लागेको हो । तर अहिले नै जर्मनीले कुन कुन क्षेत्रमा नेपाली श्रमिक कति सङ्ख्यामा लैजान्छ भन्ने कुरा भने तोकिएको छैन ।

जर्मनीसँग श्रम समझदारी गर्न श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल त्यहाँ पुगिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया