दशैँ मनाउन ३ दिनमा १ लाख ५० हजार जना काठमाण्डाै उपत्यकाबाट बाहिरिए

 असोज २९, २०८० सोमबार १९:१९:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै धेरैजसो विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दशैँ मनाउनका लागि मानिस बाहिरिन थालेका हुन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ जना उपत्यकाबाट बाहिरिएका जानकारी दिनुभयो । उहाँका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ जना बाहिरिएका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने मानिसको सहजताका लागि काठमाण्डौ उपत्यकाभित्रका १५ वटा ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाभित्र एक हजार आठ सय जना जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताउनुभयो ।

काठमाण्डौको गोङ्गबुमा रहेको नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेका बताउनुभयो ।
    
‘लामो तथा मध्यम दूरीका गाडीमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँ बसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ’, उहाँले भन्नुभयो । दशैँका लागि अहिलेसम्म ७० हजार जना मानिसले अग्रिम टिकट काटिसकेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिनुभयो ।

सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै मानिस बाहिरिने अनुमान रहेको बताउनुभयो । मानिसलाई सहजै गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया