भूकम्पले ढलाएको घर पुनर्निर्माण भयो, तर छोराको शव आएन

 कात्तिक १, २०८० बुधबार १०:१७:५७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का धनलाल आउजीको घर गएको असोज १६ गते भूकम्पले भत्कायो । त्रिपालमुनि बास भयो । घर भत्किएको पीडा छँदैथियो, त्यसमाथि धनलालको परिवारमा अर्को बज्रपात आइलाग्यो । इजरायलमा पढ्न गएको माइलो छोरा गणेश नेपाली कहिल्यै नफर्कनेगरी उतै ढलेको खबर सुन्नुपर्‍याे । 

भूकम्पले चिराचिरा पारेर भत्किएको घरलाई त सहयोगी मनहरुले टालटुल र टिन ठोकेर पुनर्निर्माण गरी दिएका छन् । तर छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्ने ? ‘घर त सहयोगी मनहरुले छाइदिए । बास बस्नलाई त भयो । तर छोराको शव आएको छैन’ उहाँले भक्कानिदै भन्नुभयो, ‘छोरा विदेश नगएर यतै केही गर भनेको थिएँ । अध्ययन गरेर फर्किएर आफ्नै माटोमा केही गर्छु भन्थ्यो । तर कहिले पनि नफर्किने गरेर गयो । विदेशमा गएका छोराछोरीहरु बाकसमा आउँछन् भन्न सुनेको थिएँ । आज आफैँले भोग्नुपर्‍याे ।’

गाउँमा भूकम्प गएको थाहा पाएपछि इजरायलमा रहेका छोरा गणेश नेपालीले परिवारलाई फोन गरेका थिए । घर के कति क्षति भयो भन्दै सोधेका थिए । परिवारसँगको यो नै अन्तिम कुराकानी भएको उहाँका दाजु विकास नेपाली बताउनुहुन्छ ।

गणेश अध्ययनको सिलसिलामा इजरायल गएको एक महिना पुग्नै थालेको थियो । उनी भदौ २५ गते इजरायल गएका थिए । असोज २० गते साँझपख धनलालका जेठा छोरा विकासले इजरायलमा हमासबाट आक्रमण भएको र नेपाली पनि परेको हल्ला सुन्नुभयो । ‘मैले यो घटनाका बारेमा जानकारी पाएपछि धेरै पटक भाइलाई भिडियो कल र फोन गर्ने प्रयास गरेँ, तर सम्पर्क भएन । आइतवार साँझ सार्वजनिक भएको सूचीमा आफ्नो भाइ गणेशको नाम पनि देखेपछि परिवारमा रुवाबासी चल्यो । अहिले पनि कसैका आँखा ओभाएका छैनन् । गाउँका दाजु भाइहरू सम्झाउने प्रयास गरी रहनुभएको छ ।’

पढाइमा अब्बल भएका कारण गणेशले आईएससी र बीएससी एग्रिकल्चर छात्रवृत्तिमै पढ्नुभएको थियो । इजरायलमा थप पढाइसँगै कमाइ पनि हुने भएकाले परिवारका सबै खुसी थिए । तर इजरायल गएको एक महिनामै गणेशको ज्यान गएपछि परिवारमा रुवाबासी चलेको छ ।  विदेशमा पढेर फर्किएपछि कृषि क्षेत्रमा उदाहरणीय काम गर्ने गणेशको योजना सपनामै सीमित हुन पुगेको छ ।

गणेशको शव नेपाल ल्याउनका लागि सरकार लागिपरेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो ‘गणेशको शव इजरायलमा भएको नेपाली राजदूतावासले प्राप्त गरी सकेको छ, गणेशसँगै ज्यान गुमाएका ५ जनाको शव एक, दुई दिनभित्रै नेपाल ल्याउने तयारी भएको हामीले बुझेका छौं ।’

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । गएको असोज २० गते हमासको आक्रमणमा १० जनाको ज्यान गएकोमा ५ जनाको शव पहिचान हुनै बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया