बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

 कात्तिक १२, २०८० आइतबार १४:३:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतवार बिहान पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको चुनावअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । 

बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् । अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ‘उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।’

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उहाँको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

बीएनपीका अध्यक्ष एवम् दुई पटक प्रधानमन्त्री बन्नुभएकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उहाँका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आउनुभएको छ । 

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिवार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको ठूलो भएको बताएका छन् । साथै आउँदो जनवरीमा हुने आमचुनावभन्दा अघि भएको विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ । 

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए । 

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा हुनुहुन्छ । उहाँले कुल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्रताका साथ आर्थिक विकास गर्नुभएको छ तर मुद्रास्फीति बढेको छ । उहाँको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । 

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतवार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतवार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ तथा हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले सडकमा गस्ती गरिरहेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया