लालुपाते सहकारीकाे सञ्चालक समितिका उपाध्यक्षसहित ५ जना पक्राउ

 कात्तिक १२, २०८० आइतबार २०:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

खोटाङ – बचत अपचलनका कारण डुबेको खाेटाङकाे लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्षसहित पाँच जना पदाधिकारी पक्राउ परेका छन् ।

बचतकर्ताको लगानी डुबेको विषयमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो । प्रहरीले पाँच जनालाई सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा छलफलका लागि भन्दै बोलाएर नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध जिल्ला अदालतबाट एक दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । भाेलि साेमवार पुनः म्याद थप गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।

यसअघि प्रहरीले सहकारीकाे सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई गएकाे असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाण्डाैबाट पक्राउ गरिसकेको छ । आफ्नो बचत डुबाइदिएको भन्दै बचतकर्ताले २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा अनुसन्धानका लागि थप पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ताले डुबेको साँवा र ब्याज फिर्ता लिनका लागि पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सहकारीको नाममा खरिद गरिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । यस्तै अध्यक्ष जोशीको परिवारका सदस्यले मात्रै डेढ करोड रुपैयाँ ऋण चलाएको देखिएको बचतकर्ताको दाबी छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा राखिएको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताउनुभयाे ।

सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उहाँको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्दै जाँदा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट भएको आर्थिक कारोबारका विषयमा भने सञ्चालक समिति तथा कर्मचारी नै बेखबर छन् । सहकारी सङ्कटग्रस्त अवस्थामा पुगेपछि कतिपय पदाधिकारी तथा सदस्य ‘आफू सञ्चालक समितिमा नभएको’ भन्दै पन्छिने गरेका छन् ।

सहकारीमा जिल्लाका चार हजार पाँच सय जना बचतकर्ताको लगानी छ । एकै जनाले ४५ लाख रुपैयाँसम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम ३० हजारदेखि ७५ लाख रुपैयाँसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गाबाहेक साँवा ब्याजसहित झन्डै १० करोड रुपैयाँ ऋण लगानी छ । बचतकर्तालाई साँवा ब्याजसहित झन्डै सात करोड रुपैयाँ फिर्ता दिनुपर्ने हिसाब छ । तर अध्यक्ष जोशीको निधनका कारण ऋण उठाउन कठिन भइरहेको सहकारी सञ्चालक समितिका सदस्य आचार्यले बताउनुभयाे ।

कतिपय ऋणीले पटक–पटक भाका राख्ने, अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले ‘अदालत जान’ भनेर घुर्क्याउने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास शुरु गरेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया