वैदेशिक रोजगारबाट फर्किएर नर्सरी व्यवसाय गर्नेको अनुभव : काम गर्ने हो भने यहीँ विदेशभन्दा राम्रो कमाइ छ

 कात्तिक २०, २०८० सोमबार ११:१७:५० | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - भत्तपुरकाे चाँगुनारायण नगरपालिका – ९ का रामेश्वर वासी सुखी जीवनको आसमा खाडीका देशदेखि ज्यानकै बाजी थापेर अफगानिस्तानसम्म पुग्नुभयो ।

सुन्दर भविष्यको सपना बुनेर कुवेत, साउदी अरेबिया, यूएई र अफगानिस्तान गरी झण्डै १३ वर्ष बिताउनुभयो । जीवनको उर्वर समयमा घर परिवार र देशै छाडेर परदेश जाँदा पनि सोचेजस्तो नफर्किएको रामेश्वरको जीवन देश फर्किएर थालेको फूल व्यवसायले फर्किरहेको छ । 

अहिले उमेरले ४६ वर्ष टेक्नुभएका रामेश्वर २१ वर्षकै उमेरमा परदेश लाग्नुभएको थियो । २०५३ सालमा कुवेतबाट शुरु भएको थियो । खाडीका देश साउदी अरेबिया, यूएई हुँदै उहाँ अफगानिस्तानसम्म पुग्नुभयो । सोचेजस्तो कतै पनि नभएपछि उहाँ देश फर्किनुभयो । 

घर नजिकै अरूले गरेका फूल खेतीले उहाँको मन तान्यो ।  २०७२ सालदेखि शुरु गर्नुभयो व्यावसायिक रूपमा फूलको व्यवसाय ।

‘हामी बाहिरबाट आएर जग्गा भाडामा लिएर त खेती गरिरहेका छौँ, तपाईँहरुको त आफ्नै जग्गा छ, शुरु गर्नुस्, के के सहयोग गर्नुपर्ने हो हामी गछौँ भनेर आँट दिए’ रामेश्वर भन्नुहुन्छ ‘त्यसपछि त मलाई पनि के चाहियो र शुरु गरेँ ।’ 

त्यसपछि रामेश्वरले जीवनमा पछाडि फर्किएर हेर्न परेको छैन ।

शुरुमा पाँच सय जरबेरा फूलबाट शुरु भएको उहाँको व्यवसाय अहिले दश रोपनी जमिनमा फैलिएको छ । अहिले भने उहाँ गुलाफ, जरबेरा, स्टाटिस, गोदावरीलगायतका फूल खेती गरिरहनु भएको छ ।

श्रीमती, एक छोरा, एक छोरी अनि आमासहितको उहाँको परिवारको अहिलेको जीविकोपार्जन यही पुष्प व्यवसायबाट चल्दै आएको छ । पब्लिक हेल्थमा स्नातकोत्तर गर्दै गरेकी छोरी अनि सिभिल इन्जिनियरमा स्नातक गरेको छोराले पनि उहाँलाई यो व्यवसायमा सघाइरहेका छन् । 

उहाँ भन्नुहुन्छ, ‘छोरा, छोरी दुवैको अरू जागिर छैन अहिले मलाई नै सघाएर बसिरहेका छन्, शिक्षित मान्छेले सघाउनु हुँदैन भन्ने कहाँ लेखेको छ र उनीहरूले काममा झन् राम्रो गुणस्तर निकाल्छन् ।’

एक लाख रुपैयाँबाट शुरु भएको उहाँको व्यवसाय विस्तारका क्रममा अहिले उहाँले कृषि विकास बैंकबाट कर्जा लिएर एक करोड रुपैयाँ लगानी गर्नुभएको छ । उहाँले छ जनालाई रोजगारी दिइरहनु भएको छ । उहाँको अहिले सबै खर्च कटाएर झण्डै मासिक ५०/६० हजारभन्दा बढी हुन्छ आम्दानी ।

सामान्य जीवनयापनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा त्यत्तिकै दुःख र मेहनत गर्‍यो भने यहीँ पनि राम्रो रहेछ भन्नुहुन्छ उहाँ । फूल व्यवसाय मात्र नभइ अलिकति तालिम र सामान्य ज्ञान लिएर कुनै पनि व्यवसाय गर्दा सफल हुन सकिन्छ भन्ने लाग्छ उहाँलाई । 

नेपालमै बसेर पनि केही गर्न सकिन्छ

वासी जस्तै वैदेशिक रोजगारबाट फर्किएर पुष्प व्यवसाय गरिरहनु भएकाे छ मीनबहादुर गुरुङले पनि । 

गोरखा बारपाकका ४० वर्षीय गुरुङले नर्सरी व्यवसाय गर्न थाल्नु भएको झण्डै दश वर्ष भयो । २०६३ सालमा उहाँ न्युजिल्याण्ड जान भनेर उड्नु भएको थियो । तर कतारमा पुगेर रोकिनुपर्‍यो । डेढ वर्ष बसेर उहाँ फर्कनुभयो ।

महिनाको झण्डै ५० हजार रुपैयाँ थियो कमाइ । तर पछि कम्पनी बन्द भएपछि उहाँ फर्केर आउनुभयो । फर्किएपछि दुई वर्ष यहीँ बसेर हाउस वायरिङ तथा कुखुरा पालन गर्नुभयो । त्यसपछि फेरि २०६७ सालमा दुबई जानुभयो । झण्डै छ महिना बसेपछि उहाँ फर्केर आउनुभयो ।

‘विवाद भएपछि एक लाख रुपैयाँ तिरेर गएको मान्छे डेढ लाख रुपैयाँ बुझाएर फर्कियो’ उहाँ भन्नुहुन्छ । 

२०६८ सालमा फेरि मलेसिया जानुभयो । त्यहाँ तीन महिना बसेर फर्केर फर्कनुभयो । अनि फर्किएको केही समयपछि उहाँले नर्सरी व्यवसाय शुरु गर्नुभयो ।

उहाँले नर्सरी व्यवसाय नै रोज्नुमा भने नेपालमा हुँदा पहिले नेपालमा हुँदा पनि नर्सरी सम्बन्धी काम गर्नुभएको थियो । दाइसँग बसेर नर्सरी सम्बन्धी नै काम गर्नुहुन्थ्यो । ‘पहिले काम जानेको हुनाले पनि विदेशबाट फर्किएपछि यही काम गर्न सजिलो भयो,’ उहाँ भन्नुहुन्छ । 

उहाँको नर्सरी बालुवाटारमा छ । त्यहाँ सानो ठाउँ भएकोले प्रदर्शनीका लागि मात्र बिरुवाहरू राखिएको छ । उहाँ उत्पादन भने टोखामा गर्नुहुन्छ । 

श्रीमती तथा ६/७ कक्षामा पढ्दै गरेका दुई जना बालबच्चा गरेर उहाँको चार जना परिवार यही नर्सरी व्यवसायले नै धानेको छ । यो व्यवसायबाट वार्षिक झण्डै १२ देखि १५ लाख रुपैयाँ कमाउनुहुन्छ गुरुङ ।

उहाँ भन्नुहुन्छ, ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ तर सबै जना विदेश विदेश भनेर जाने कारणले धेरै युवाहरू विदेश गएका हुन्, गर्‍यो भने नेपालमै पनि सजिलै विदेशमा कमाउने पैसा कमाउन सकिन्छ ।’

विदेशमा जति खट्ने हो भने यहीँ कमाइ छ

फ्लोरा एक्सपो भृकुटीमण्डपमा भएको उत्कृष्ट नर्सरी प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्नुभएका मिलन नर्सरीका तीर्थबहादुर लोप्चन पनि वैदेशिक रोजगारबाट फर्किएर नर्सरी व्यवसाय गरिरहनु भएको छ ।

पर्साको ठोरी गाउँपालिका – ४ का लोप्चनले नर्सरी व्यवसाय शुरु गर्नुभएको १५ वर्ष हुन लाग्यो । उहाँले नर्सरी व्यवसायको काम भने दाइसँग सिक्नुभएको हो ।

उहाँको दाइ पनि यही व्यवसायमा हुनुहुन्छ । बेलाबेलामा छुट्टीमा आउँदा पनि उहाँ आफूले जानेको काम भएका कारण दाइसँग यही व्यवसाय गर्ने बारेमा छलफल पनि गर्नुहुन्थ्यो । ‘वैदेशिक रोजगारबाट फर्किएपछि खाली होइन्छ, त्यसैले यही काम गर्नुपर्छ, कसरी गर्ने भन्ने बारेमा विदेश हुँदा पनि मेरो दाइसँग यही कुराको बारेमा छलफल चलिरहन्थ्यो’ उहाँ भन्नुहुन्छ ।

३८ वर्षीय लोप्चन २०५९ सालमा नै मलेसिया जानुभएको थियो । उहाँ त्यस बेला भर्खर १७ वर्षको हुनुहुन्थ्यो । झण्डै सात वर्ष मलेसियामा बस्नुभयो । मलेसियामा पनि उहाँको कमाइ त्यस बेला राम्रै थियो । तर, उहाँको मनमा भने सधैँ विदेश बसेर केही हुँदैन नेपाल गएर केही गर्ने भन्ने थियो ।

उहाँको परिवारमा श्रीमती तथा तीन जना छोराछोरी छन् । अरू दुई भाइ पनि उहाँसँगै छन् । बालुवाटारमा रहेको उहाँको नर्सरीले बालबच्चा पढाउनेदेखि सबैको खर्च धानेको छ । उहाँको हिसाबमा वार्षिक झण्डै सबै खर्च कटाएर पनि ६ देखि ७ लाख रुपैयाँको कमाइ छ यो व्यवसायबाट । 

पैसा नहुनेले विदेश गएर पुँजी जम्मा गरेर देश फर्किएर केही उद्यम गर्दा हुने रहेछ भन्नुहुन्छ उहाँ । तर विदेशमा हुने सामान्य जीविकोपार्जनको कमाइ भने नेपालमा विदेशमा जति खट्ने हो भने यहीँ हुने उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, ‘विदेश नजाऊ भन्न त मिलेन तर त्यहाँ कमाएको पैसा र अनुभवले यहाँ काम गर्ने सोच बनाउनुपर्छ, सामान्य खान लाउने कमाइ त विदेशमा जत्तिको दुःख गर्‍यो भने यहीँ हुन्छ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया