समयमा राहत नपाउँदा शोकसँगै भोक पनि खेप्नुपरेको छ : भूकम्प पीडित

 कात्तिक २०, २०८० सोमबार १२:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जाजरकोटका भूकम्प पीडितहरुले अझै पनि राहत नपाएको गुनासो गरेका छन् ।

परिवारका चार सदस्य गुमाउनुभएका नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले अहिले शोकसँगै गाउँमा भोक पनि शुरु भएको बताउनुभयो । मानिस मरेको शोकसँगै रात कटाउन छानो र पेट भर्नका लागि खाना नपाएर गाउँमा समस्या आएको उहाँको भनाइ छ ।

नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि अहिलेसम्म दुई सय ५० मात्र पुगेको नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले बताउनुभयो । नगरपालिकाले सक्दो प्रयास गरिरहेको भए पनि आफूहरुको क्षमताभन्दा माथिको समस्या आएको नलगाडका मेयर डम्बर रावतले बताउनुभयो ।

नलगाड नगरपालिकामा ५४ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । यस्तै, बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि राहत नपुग्दा समस्या भएको बताउनुभयो । धेरै घर नढलेका भए पनि बस्न नमिल्ने भएकाले स्थानीयलाई समस्या भएको उहाँले बताउनुभयो ।

गएराति पनि बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीहरु पनि खुल्ला आकाशमै बस्न बाध्य भएका छन् । राहत सामग्री प्राप्त हुने र प्रभावित क्षेत्रमा पठाउने काम भइरहेकोले आजदेखि सबै क्षेत्रमा राहत वितरण हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

रुकुम पश्चिममा पनि आजदेखि राहत वितरण थप तीव्र हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । गएको शुक्रवार रातिको भूकम्पका कारण एक सय ५७ जनाले ज्यान गुमाएका छन् । सबैको शव आफन्तहरुले बुझिसकेका छन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया