भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबासविहीन, सबैभन्दा धेरै रुकुम पश्चिममा

 कात्तिक २२, २०८० बुधबार ९:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५० घर आंशिक रुपमा भत्किएका हुन् ।

पूर्ण र आंशिक रुपमा घर भत्किएका परिवार खुला ठाउँमा बस्न बाध्य छन् । आंशिक रुपमा भत्किएका घरहरु पनि लगातारको परकम्पले भत्किने क्रम चलिरहेको छ । लगातारको परकम्पका कारण घर नभत्किएकाहरु पनि घर छाडेर सुरक्षित ठाउँमा बस्दै आएकाले भूकम्पका कारण विस्थापित हुनेहरुको संख्या अझै धेरै भएको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण र नौ हजार ९ सय ६१ घर आंशिक रुपमा भत्किएका छन् । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्ण र सात हजार १ सय ६६ घर आंशिक रुपमा भत्किएका छन् । सल्यानमा एक सय २९ घर पूर्ण र चार सय १८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

१९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया