भूकम्प पीडितले अझै पाएनन् त्रिपाल

 कात्तिक २२, २०८० बुधबार १३:४६:१ | रासस
unn.prixa.net

जाजरकोट – गएको शुक्रवार राति भूकम्प जाँदा निद्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उहाँ  निस्कने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि हुनुभयो । उहाँ अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीमा रहेको सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आउनुभएको छ ।

उहाँलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नुभएका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताउनुभयो । भूकम्पले मानसिक त्रासमा रहेका धेरैजसो सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरूप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताउनुभयो । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उहाँको भनाइ छ । खुला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहेनछ भन्दै निराश हुनुभएको छ ।

त्यस्तै अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गर्नुभयो ।  जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उहाँले सुनाउनुभयो । शुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिस्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताउनुभयो । घर पूर्णरूपमा भत्किएर समस्यामा परेको उहाँको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको परकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताउनुभयो ।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उहाँले बताउनुभयो । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एक पटक विकासको बाटो बन्द गरिदिएको छ ।

कुन पालिकामा कति क्षति ?

भेरी नगरपालिकामा तीन सय ४४ वटा घर पूर्णरूपमा भत्किएकाे छ भने सात सय १२ वटा घरमा आंशिक क्षति पुगेकाे छ । दुई वटा विद्यालय पूर्णरूपमा भत्किएको र १७ वटामा आंशिक क्षति भएको छ । त्यस्तै पाँच वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ जना रहेका छन् ।

नलगाड नगरपालिकामा दुई सय वटा घर पूर्णरूपमा क्षति भएको र छ सय घरमा आंशिक क्षति भएकाे छ । १२ वटा विद्यालय पूर्णरूपमा भत्किएकाे छ भने २१ वटामा आंशिक क्षति पुगेको छ । छ वटा सरकारी कार्यालयमा क्षति भएको छ । ज्यान गुमाउनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् ।

छेडागाड नगरपालिकामा एक सय वटा घरमा पूर्ण क्षति भएको र पाँच सय वटामा आंशिक क्षति भएको छ । तीन वटा विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

कुशे गाउँपालिकामा ९५ वटा घर पूर्णरूपमा क्षति भएको छ भने तीन सय एक वटामा आंशिक क्षति पुगेको छ । चार वटा विद्यालय पूर्णरूपमा भत्किएकाे छ भने १७ वटामा आंशिक क्षति भएको पाइएको छ । एउटा सरकारी कार्यालय पूर्णरूपमा भत्किएको छ भने १७ वटामा आंशिक क्षति पुगेको छ । दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बारेकोट गाउँपालिकामा एक सय ६० वटा घर पूर्णरूपमा भत्किएकाे छ भने पाँच सय ६० वटामा आंशिक रूपमा क्षति पुगेको छ । पाँच वटा विद्यालय पूर्णरूपमा भत्किएकाे छ भने दुई वटामा आंशिक क्षति पुगेकाे पाइएको छ । एउटा सरकारी कार्यालय पूर्णरूपमा भत्किएको र दुई वटामा आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । यस्तै चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

शिवालय गाउँपालिकामा एउटा घर पूर्णरूपमा भत्किएको र ३७ वटामा आंशिक क्षति भएको छ । पाँच वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एउटा सरकारी कार्यालयमा क्षति पुगेको छ । एक जना घाइते भएका छन् । 

जुनीचाँदे गाउँपालिकामा दुई सय ७० वटा घर पूर्णरूपमा भत्किएको र चार हजार ५६ वटामा आंशिक क्षति भएको छ ।

जाजरकोटमा एक हजार एक सय ७० वटा घर पूर्णरूपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घरमा आंशिक क्षति भएको पाइएको छ । २३ वटा विद्यालय पूर्ण क्षति र ७५ वटामा आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको ज्यान गएको र एक सय ५२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया