गण्डकीका मुख्यमन्त्री र सीपीसीका सचिवबीच भेट : तिब्बती नाका, पोखरा विमानस्थलबारे छलफल

 कात्तिक २४, २०८० शुक्रबार २०:२९:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) काे तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरूबीच भेटवार्ता भएको हो ।

भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखाकाे तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउन सहयोग गरिदिन अनुराेध गर्नुभयाे । कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रुतमार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सीपीसीका सचिव वाङलाई जानकारी गराउनुभयाे ।

‘चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत शहरबाट नियमित सिधा उडानका लागि अनुरोध गर्दछु । यसले दुई देशबीच व्यापार, पर्यटन एवम् जनसम्पर्कलाई पनि मद्दत पुर्‍याउनेछ’, मुख्यमन्त्रीले भन्नुभयाे ।

तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल–तिब्बत सम्बन्धको स्मरण गर्नुभयाे । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल–चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उहाँले भन्नुभयाे, ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चीन पनि हो ।’

भेटमा सीपीसीका सचिव वाङले कोरोला नाका कात्तिक २७ गतेदेखि खाेल्ने योजना रहेको बताउनुभयाे । उहाँले पोखरा विमानस्थलमा चीनको शहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने जनाउनुभयाे । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सचिव वाङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ताे दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया