राहत वितरणको काम प्रभावकारी हुन नसकेको संसदीय समितिको निष्कर्ष

 कात्तिक २५, २०८० शनिबार ७:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोटको कुशे गाउँपालिकाका स्थानीयवासीका लागि चामल वितरण गर्ने तयारी गरिँदै

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो ।

समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको छ । समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह समेत गर्नुभएको छ ।

सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ । चिसो बढ्दै जाँदा भूकम्प पीडित थप मारमा छन् ।

जाजरकोट भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ । भूकम्पमा घाइते भएका रुकुम पश्चिमका निरोज विष्टको उपचारका क्रममा ज्यान गएको हो । भूकम्पबाट जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाएका हुन् । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पमा परेर तीन सय ६३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार पूर्णरुपमा २६ हजार ५ सय ५७ र आंशिकरुपमा ३५ हजार ४ सय ५५ घरमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया