दाङमा फूलखेती गरेका किसानलाई माला गाँस्न भ्याइनभ्याइ

 कात्तिक २५, २०८० शनिबार १७:४०:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर  फूल टिपेर माला बनाउन थाल्नुभएको छ । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि फूल टिपेर माला बनाउन थाल्नुभएको छ । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आउनुभएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताउनुभयो । उहाँले विगतमा तिहारको समयमा सात लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गरेको बताउनुभयो ।

लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताउनुभयो ।

‘जिल्लाभित्रैकै माग धेरै छ,’ उहाँले भन्नुभयो। रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको हो । उहाँले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गर्नुभएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दशैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थाल्नुभएको हो । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाण्डौमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि शुरु गरेको हुँ,’ रोका मगरले भन्नुभयो ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन शुरु गरेको बताउनुभयो । फूलको माग दशैँतिहारमा बढी हुने गरेको उहाँको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उहाँको भनाइ छ ।

जिल्लामा फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको हो । उहाँले पनि अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ । तिहारका लागि माग हुन थालेको उहाँको भनाइ छ।

‘माला बनाउन थालेका छौँ,’ उहाँले भन्नुभयो । प्रति माला ८० देखि दुई सय रुपैयाँसम्म बिक्री गर्ने गरेको बुढाले बताउनुभयो । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताउनुभयो ।

एकदुई कट्ठाबाट शुरु भएको जिल्लाको फूलखेती हालआएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रुपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया