तीनकुने क्षेत्रमा गाडी चल्न थाले, बल्खुमा भने प्रदर्शनकारी अझै सडकमै

 मंसिर ७, २०८० बिहीबार १६:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेकपा एमालेको भातृ सङ्गठन, राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा गरेका छन् ।

युवा सङ्घले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा सभा तथा प्रदर्शन गरेका हुन् । प्रदर्शन र आमसभाका कारण बिहानदेखि नै तीनकुने र बल्खु क्षेत्रमा गाडी चल्न सकेका थिएनन् । युवा सङ्घको कार्यक्रम सकिएकाले अहिले तीनकुनेमा गाडी चल्न थालेका छन् । तर बल्खु क्षेत्रमा भने केही प्रदर्शनकारी अझै सडकमै रहेकाले गाडी चल्न सकेका छैनन् ।

यस्तै दिउँसो झडप हुँदा सडकमा ढुङ्गा र इँटा असरल्ल रहेका छन् । प्रहरीका ब्यारिकेड पनि सडकमै हुँदा गाडी चल्न सकेका छैनन् । आज दिउँसो बल्खुमा दुई पटकसम्म झडप भएको थियो । बल्खुबाट प्रसाईंका समर्थक प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ जान थालेपछि झडप भएको हो । प्रसाईंले अब सहर छिर्ने भन्दै घोषणा गरेपछि उत्तेजित भीडले प्रहरीलाई ठेल्दै कालिमाटीतर्फ जाने प्रयास गरेको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर भीडलाई नियन्त्रणमा लिएको छ ।

यस्तै दिउँसो केहीबेर बल्खुमा युवा सङ्घका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको थियो । झडपमा केही गाडीमा तोडफोड भएको छ । ग्यारेजभित्र मर्मतका लागि राखिएका मोटरसाइकलमा समेत केही उच्छृङ्खल युवाले सडकमा ल्याएर तोडफोड गरेका थिए । ती युवा कुन समूहका हुन् भन्ने खुलेको छैन ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया