चिच्याएर वर माग्ने मेला पाल्पामा शुरु

 मंसिर ७, २०८० बिहीबार १७:१७:१३ | रासस
unn.prixa.net

फाइल तस्बिर

पाल्पा – चिच्याएर वर माग्ने मेला पाल्पामा शुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ काे सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीवारदेखि शुरु भएकाे मेला पाँच दिनसम्म चल्नेछ ।

भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष झन्डै दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ ।

मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिङ्गो भोलिपल्ट चिनेर पूजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ ।

धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।

एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाङ्क्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ ।

परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र त्यही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गर्दछन् ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया