रेसुङ्गामा दिनभर श्रद्धालुकाे घुइँचाे

 मंसिर ७, २०८० बिहीबार १८:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा आज बिहीवार दिनभर श्रद्धालुकाे घुइँचाे लाग्यो । पूजाआजाका लागि श्रद्धालु बेलुकी अबेरसम्म पनि रेसुङ्गा क्षेत्रमा पुगेका थिए । रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पुग्ने श्रद्धालुकाे चाप पनि उत्तिकै थियो ।

रेसुङ्गामा जङ्गलको बीचमा रहेको पोखरीमा स्नान र पूजाआजा गर्नका लागि गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट श्रद्धालु आउने गर्दछन् । हरिबाेधनी एकादशीको दिन रेसुङ्गा पोखरीमा स्नान गर्नाले चारधाम जान नपर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

मनोकामनासमेत पूरा हुने धार्मिक विश्वासका कारण रेसुङ्गा पोखरीमा स्नान गर्नेकाे घुइँचो लाग्ने गर्दछ । त्रेतायुगमा राजा दशरथलाई पुत्र नभएपछि यसै ठाउँमा आएर पुत्रेष्टि यज्ञ गरेपछि पुत्र लाभ भएको भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

रेसुङ्गा पुग्नका लागि सदरमुकाम तम्घासदेखि रेसुङ्गा पोखरीसम्म सडक कालोपत्र भएको छ । पक्की सडकको सहजै पहुँच भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म यातायातको माध्यमबाट सजिलै रेसुङ्गा पुग्न सक्छन् । पोखरी क्षेत्र र मन्दिर परिसरभित्र रेसुङ्गा संरक्षण समितिले व्यापारीलाई माछामासु र जाँड–रक्सी बेच्न रोक लगाएको छ । ठूलो एकादशीको रूपमा समेत चिनिने हरिबाेधनीलाई गुल्मीमा विशेष महत्त्वको रूपमा मान्ने प्रचलन छ ।

यसैगरी कालीगण्डकी र रुद्रवेणी धाममा पनि बिहानैदेखि स्नान गर्ने, पूजापाठ गर्ने श्रद्धालुको घुइँचाे लागेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया