ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए मध्यपहाडी लोकमार्गका ठेकेदार

 मंसिर १०, २०८० आइतबार १३:१६:४१ | रासस
unn.prixa.net

बाग्लुङ - मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको  निर्माण व्यवसायी समूह लामो समयपछि काममा फर्किएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बाग्लुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बाग्लुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बाग्लुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो । 

बाग्लुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुनसकेको छैन ।

बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि  ठेक्का रद्द गरिएको र बाग्लुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनयिर पवन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेपछि तल्लो खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ । 'बिहुँबाट घोडाबाँधेसम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बाग्लुङ बजारबाट बिहुँसम्मको १३ किलाेमिटर सडकको निर्माणसमेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौँ', सूचना अधिकारी सुवेदीले भन्नुभयो, 'तल्लो खण्डमा अन्तिम चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजारबाट बिहुँतर्फको सडकमा कालोपत्रका लागि ग्राभेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।'

काममा फर्केपछि एकपटक अवसर दिन लागिएको जनाउँदै उहाँले यसपटक अछेते बजारबाट साढे चार किलाेमिटरमाथि बिहुँसम्म कालोपत्र गर्ने गरी काम भइरहेको बताउनुभयो । निर्माण व्यवसायीले सदरमुकामबाट अछेते बजारसम्म पहिल्यै कालोपत्र गरिसकेको छ । निर्माण कम्पनी काममा फर्केपछि अहिले यस खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीय आशावादी छन् । 

विकास निर्माणमा लापरबाही  देखिएको मध्यपहाडी राजमार्गको याे खण्डमा असारअघि नै कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये  २५ किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ ।

उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दासमेत सम्पन्न हुनसकेको छैन । यस्तै बिहुँबाट घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्ने गरी सूर्य कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएकामा पाँचपटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रियामा गएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया