ऋण तिर्न पर्दैन भन्नेको पछि लाग्दा उल्टै बढेको ऋण !

 मंसिर १०, २०८० आइतबार १४:३३:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

ठूल्ठूला कहलिएका नेतालाई पालैपालो मार्सी भातमा पल्काउँदै आफू पुलपुलिएर हिँडेको मान्छेले ललिपप देखाएर भने, ‘मेरो पछाडि हिँड, कसैको ऋण तिर्नु पर्दैन । मसानघाट खोतलेर राजा बिउँताउँछु र रामराज्य फर्काउँछु !’

कुरो सुन्नेबित्तिकै मान्छेका कान ठाडा भए । निराशा नै निराशाको बीचमा एक्कासी आशाको किरण झुल्कियो । एकसुको ऋण नभएकाहरूले थुक्क भन्दै पछुतो माने । बैंक, सहकारी, छिमेकी, साथीभाइ र नातेदारसँग ऋण लिएकाहरूले घुटुक्क थुक निल्दै सोचे– बल्ल खोजेकैजस्तो मान्छे भेटियो । पहिलेपहिले ठूलाबडा नेताहरूले पनि यसै भन्थे । जसको जोत, उसकै पोत भनेर नारा लाउँथे । साहुमहाजनको सम्पति दुःखी गरिबलाई बाँड्छु भन्थे । जसको घरमा बसेको छ, त्यो उसकै घर हुने र जसको खेत छ, त्यो जोत्नेकै हुने भनेर मान्छे उचाल्थे । साना किसान र कृषि विकास बैंकबाट लिएको ऋण मिनाहा गर्दिन्छौँ भनेर बुरुकबुरुक उफ्रन्थे । अब देश सिङ्गापुर बन्छ भनेर भाषण ठोक्थे । हो क्यारे भनेर तिनका पछि लागियो । जसोजसो भने, त्यसैत्यसै गरियो । कहिले जुलुसमा मिसिन बोलाउँथे । कहिले सडकमा ढुङ्गा हान्न र रेलिङ भाँच्न लगाउँथे । प्रहरीसँग भिड्न उकास्थे । बेलाबेला मासुभात पनि खुवाउँथे । कहिले लोभ्याउँथे, कहिले धम्क्याउँथे । अब केही होला कि भनेर तिनका पछि धेरै लागियो । कहिले यसको, कहिले त्यसको झण्डा बोकियो । सबैका मासुभात चाखियो । कसैकोमा नुन चर्को, कसैकोमा पिरो बढी । तर हामीलाई दुई चौटा मासुमा लोभ्याएर उनीहरू करोडौँकरोड कुम्ल्याउने ठाउँमा पुगे । पालैपालो डाडुपन्यौ चाटेर भुँडी फुलाए । आफू र आफ्ना मान्छे मात्रै हेरिरहे, अरूलाई चुनावको बेलाबाहेक अरू बेला फर्केर पनि हेरेनन् । उनीहरू पालैपालो खाएको खायै, आफू हेरेको हेर्यै ।

अरूले खाएको मात्रै हेरेर बसिरहँदा ‘अब म खुवाउँछु तिमीहरूको ऋण मिनाहा गरिदिन्छु, मेरो पछि हिँड’ भन्ने मान्छे आएपछि तिर्खा लाग्दा पानी भेटिएजस्तो, उकालोमा लौरो भेटिएजस्तो भयो । उनका पछि लाग्ने अरू पनि कति कति । यी सबै ऋण मिनाहा भएरै पछि लागेका होलान् भनेर आफू पनि हुलमा मिसियो । उनकै मान्छेले बन्दोबस्त गरेका गाडी चढियो । काठमाण्डौ पुगियो । पहिलेपहिले यसरी काठमाण्डौ लैजानेहरूले त मासुभात खुवाउँथे । तर यसपालि त मासुभात नै खान पाइएन । अरू दिन मासुभात खुवाउनुपर्छ भनेर होला ठूलो एकादशीका दिन बोलाए । एकादशीमा मासु खान हुँदैन भनेर पन्यालो दालको झोलमा टारे । तै पनि ठीकै छ सित्तैमा खान पाइयो भनेर चित्त बुझाइयो । झण्डा बोकेर सडकमा कुदियो । अरूसँगै उफ्रियो । प्रहरीलाई ढुङ्गा हानियो, बदलामा प्रहरीको लाठी खाइयो । भोलिपल्टदेखि त प्रहरीले झण्डा बोकेर बाटोमा हिँडेको देख्नेबित्तिकै लौराले ठटाउन थाल्यो । दौरा र कोट लगाएको देख्नेबित्तिकै समातेर खोरमा जाक्यो । त्यसपछि त ‘मेरो पछि लाग बैंकको ऋण मिनाहा गरिदिन्छु भन्ने मान्छे’ नै देखिन छाडे । सित्तैमा मिल्ने दालभात पनि पाइएन । दालभात खान पनि ऋण खोज्नुपर्ने भयो । ऋणमाथि ऋण थपेर बल्लबल्ल गाडीभाडा जुटाइयो र घर फर्किइयो ।

घर फर्केपछि पो देखियो, ऋण मिनाहा गरिदिन्छु भन्ने मान्छे आफैँ अर्बाैँ ऋणमा चुर्लुम्म डुबेका ! कहिले यसको र कहिले उसको पछि लागेर दुनो सोझ्याउँदा सोझ्याउँदै आफैँ बाङ्गिएर उत्तानो परेका ! अरूलाई पछि लगाउन सकियो भने आफू ठाउँमा पुग्न सकिन्छ भन्ने बुझेर पछाडि फर्किएका ! जिउँदा जति सबैको सङ्गत गरेर केही नपाएपछि मरिसकेको शक्ति खोज्न चिहान खोतल्न लागेका !

मसानघाट खोतलेर राजतन्त्र बिउँत्याउँँछु भन्छन् । कामै नलाग्ने मक्किएको र फुस्किएको पेचमा श्री झुण्ड्याएर राजा ल्याउँछु भन्छन् । अहिले पनि राजा भएकोभन्दा के कम छ र ? पहिले एक जना राजा थिए । अहिले टोलैपिच्छे राजा छन् । उही श्रीपेच नभएका त हुन् । राजा हेर्न र बेहाेर्न कहीँ जान परेकै छैन । राजा र राजतन्त्रको झल्को दिने नेताहरू जति पनि छँदैछन् । राजाको न्यास्रो त लागेकै छैन । त्यही बैंकको ऋण मिनाहा गर्छन् कि भन्ने आशा थियो । आफैँ ऋणमा डुबेका मान्छेको आश गरेर हिँड्दा उल्टो ऋण थपियो । कानै नछामी कागको पछि कुदेर भएन । अब आफ्नै बलबुताले ऋण तिर्ने उपाय खोज्दै अहिलेका नवराजाहरूको घैँटोमा घाम पर्खनुबाहेक अर्को उपाय होला र ?

अन्तिम अपडेट: फागुन १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया