पक्राउ परेका व्यक्ति बाटाेबाटै बेपत्ता बनाएकाे आराेपमा रसुवामा २ प्रहरी कारागार चलान

 मंसिर १०, २०८० आइतबार १६:१८:२९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रसुवा – मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई जना प्रहरी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । 

पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा रसुवाकाे थुमनका एक जना बीच बाटोमै गायब गराएको आरोप उनीहरूमाथि लागेको छ ।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय छिरिङ तामाङलाई थुमनबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा दुई जना सुरक्षाकर्मी पक्राउ परेका हुन् ।

सुरक्षा उपायविना नै पक्राउ गरिएका व्यक्ति बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी अहिलेलाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकाेमा तोकिएको जनही छ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् ।

यस्तै मानिस बेपत्ता बनाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा गाडीको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भिरबाट भोटेकोसीतर्फ भागेर हाम फालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित तथा आफन्त शुभचिन्तक एवम् गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीका लागि सडक सङ्घर्षसमेत गरेका थिए ।

उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलपछि ठहरेबमोजिम फैसला हुनेगरी अहिलेलाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिनुभयो ।

याे मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतकाे छानामा ढुङ्गा प्रहार गरे पनि नेपाल प्रहरीले त्यसलाई तत्काल नियन्त्रण गरेको थियो । रसुवा जिल्ला अदालतले अहिलेसम्म गरेका आदेश तथा फैसला कुनै पनि विवादित नभएको र यस मुद्दालाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी अन्तिम फैसलामा जाने जानकारी दिँदै पहिलो चरणको आदेशमा नै अनावश्यक टीकाटिप्पणी गरी स्वतन्त्र न्यायालयको मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न आमनागरिकसमक्ष रसुवा जिल्ला अदालतले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया