अब बटन थिचेरै सडक वारपार (तस्बिरहरू)

 मंसिर ११, २०८० सोमबार १४:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बाल्ने ट्राफिक बत्ती सञ्चालनमा आएको छ । काठमाण्डौ जिल्ला अदालत अगाडिको सडकमा राखिएको यस किसिमको ट्राफिक बत्ती नेपालमा नै पहिलो हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार 'पेलिकन क्रसिङ' भनिने यस ट्राफिक बत्तीमा स्विचकाे बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रुले 'जेब्रा क्रसिङ' बाट बाटो काटिसक्नुपर्ने हुन्छ ।

पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८/१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।

यस ट्राफिक बत्तीले बबरमहल क्षेत्रमा हुने गरेको दुर्घटनामा कमी ल्याउने बाटो काट्दै गर्नुभएका अधिवक्ता यज्ञमणि न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार अदालतका कर्मचारी फाइल बोकेर बाटो काट्ने क्रममा दुर्घटनामा परेपछि स्वतन्त्र कानुन व्यवसायी मञ्चका १७ जना कानुन व्यवसायीले काठमाण्डौ महानगरलाई अनुरोध गरेपछि यहाँ ट्राफिक बत्ती जडान गरिएको हो ।

काठमाण्डौ महानगरपालिकाको १० लाख रुपैयाँको लागतमा याे ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हाे । बबरमहलबाहेकका अरू ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।

तस्बिर : वैद्यनाथ पाैडेल/उज्यालाे सहकर्मी

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया